अपि हिमालको पर्यटन प्रवर्द्धनबाट आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा मुख्यमन्त्री भट्टको जोड


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अपि हिमालजस्ता अनुपम पर्यटकीय क्षेत्रको प्रवर्द्धनमार्फत आर्थिक उपार्जन र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ।

अपि हिमाल गाउँपालिकाले आयोजना गरेको अपि हिमाल पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनाको पहिचान, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो।
प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले अपि हिमाल सुदूरपश्चिमको मात्र नभई सिंगो देशकै अमूल्य धरोहर भएको उल्लेख गर्दै यसको संरक्षण, विकास र प्रवर्द्धनमा सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सभामुख भीम भण्डारीले अपि हिमाललगायतका पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले अपि हिमाललगायत प्रदेशका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको बताउनुभयो। आर्थिक मामिलामन्त्री चक्र मल्लले पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक योजना निर्माण तथा कार्यान्वयनमा प्रदेश सरकार लागिरहेको उल्लेख गर्नुभयो।

त्यस्तै, कृषि मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मानबहादुर धामीले पर्यटकीय क्षेत्रको विकासका लागि तयार गरिएका योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। अर्का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विक्रम धामीले अपि हिमाल क्षेत्र धार्मिक पर्यटनका दृष्टिले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै धार्मिक पर्यटक भित्र्याउन आवश्यक पहल गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव उत्तर खत्रीले सुदूरपश्चिमको पर्यटनको अनुपम सम्पदाका रूपमा रहेको अपि हिमालको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अपि हिमाल गाउँपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो।


Loading Viewer...

ताजा समाचार

spot_img