कञ्चनपुर — हिंसापीडित महिलाहरूको आर्थिक सशक्तीकरण तथा आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा साना व्यवसाय सञ्चालन, प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयाेजना गरियाे ।

साथी संस्थाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा कृष्णपुर नगरपालिका–२ र शुक्लाफाँटा नगरपालिका–११ का हिंसापीडित परिवारलाई आयआर्जनमा सहयोग पुर्याउन आर्थिक सहायता उपलब्ध गराइएको थियो।

कार्यक्रममा शुक्लाफाँटा नगरपालिका–११ का वडा अध्यक्ष शेरबहादुर साउद प्रमुख अतिथि रहनुभएको थियो। उहाँले हिंसापीडित महिलाहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। महिलाहरूलाई आयआर्जनका गतिविधिमा जोड्दै सामाजिक तथा आर्थिक रूपमा सशक्त बनाउन आवश्यक सहयोग र सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमको सहजीकरण गर्दै पशु प्राविधिक धिरेन्द्र ढुंगालले पशुपालनको महत्त्व, गोठ सुधार, रोग नियन्त्रण तथा आहारा व्यवस्थापनलगायतका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रममा आर्थिक सहयोग प्राप्त गरेका परिवारलाई व्यवसाय सञ्चालन, प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको थियो। प्राप्त सहयोगको सदुपयोग गर्दै आयआर्जनका गतिविधि सञ्चालन गर्न तथा व्यवसायलाई दिगो बनाउन आवश्यक जानकारी प्रदान गरिएको थियो।
हिंसापीडित महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले स्वरोजगार प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।










