कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लागु औषध दुव्र्यसनी र मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग र वैष्णवी मिडिया प्रालिको आयोजनामा दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको सभा कक्षमा लागु औषध दुव्र्यसनी र मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । समाजमा लागु औषध र मानव बेचबिखन ओसारपसारको समस्या ठुलो भएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउदै यस्ता सचेतनामुलक कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने बताउनु भयो । समाजमा फैलिएको लागु औषध दुव्र्यसनी र मानव बेचबिखनको कारण थुप्रै घटना भईरहेको बताउदै संयोजक महेश्वरी भट्टले यसको रोकथामका लागि सबै लाग्नुपर्ने सुझाव दिनु भयो ।

यस्तै कार्यक्रममा गैरसरकारी महासंघ कञ्चनपुरका संयोजक अमिर तिरुवाले सभ्य र मानव अधिकार संस्कृतिको समाज बनाउने जिम्मेवारी सबैको भएकोमा बताउनुभयो । समाजमा दिन प्रतिदिन लागु औषध प्रयोग र मानव बेचबिखन गर्नेको संख्या बढीरहेकाले यसलाई जरै देखि निर्मूल पार्नु पर्ने बेला भएको उहाँले बताउनुभएको छ् ।

वैष्णवी मिडिया प्रालिका दोधारा चाँदनी सञ्चालक तथा पत्रकार पप्पु गुरुङ्गको सभापतित्वमा सञ्चालन भएको सचेतनामुलक कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष भक्त बहादुर सुनार, पदम रावल, गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवा, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट लगाएत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।











