रेडियन्ट मा.बि. को प्रथम अभिभावक भेला सम्पन्न


कञ्चनपुर : रेडियन्ट माद्यमिक विद्यालयको प्रथम अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका १८ निम्बुखेडामा रहेको माया पार्टी प्यालेसमा भएको अभिभावक भेलामा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुको शैक्षिक प्रगतीबारे छलफल गर्न र बैशाख १ गते देखि असार महिनासम्म विद्यालयले गरेका गतिविधि तथा क्रियाकलापहरुको बारेमा अभिभावकलाई जानकारी गराउने उद्देश्यले उक्त भेलाको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सुर्य बहादुर चन्दले बताउनुभयो ।

अभिभावक भेलाको बन्दसत्रमा प्रिन्सिपल चन्दले विद्यालयको त्रैमासिक प्रगती विवरण प्रस्तुत गर्नुका साथै उक्त अवधिमा नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको, कर्मचारी बैठक ३ पटक सम्पन्न भएको, विद्यार्थीहरुको मासिक परीक्षण गरिएको, स्थानीय स्तरमा रहेका धार्मिक स्थलहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिन फिल्ड भिजिट गरेको, अक्षर सुधार गर्न हस्तलेखन तालिम सञ्चालन गरेको, निबन्ध लेखन, शब्दार्थ लेखन, बक्तृत्वकला, हाजिर जवाफ, बादबिवाद प्रतियोगिता लगायतका अतिरिक्त क्रियाकलापहरु लगायतका गतिविधिहरु गरेको बताउनुभयो । उक्त भेलाको खुला सत्रमा अभिभावकहरुले विद्यार्थीहरुको कमिकमजोरी र शिक्षकहरुले सुधार गर्नुपर्ने पक्षको बारेमा सल्लाह सुझाव राखेका थिए । अभिभावकहरुबाट आएका सल्लाह सुझावहरुलाई आत्समात गर्दै सुधार गर्नुपर्ने पक्षहरुलाई क्रमश: सुधार गर्दै लैजाने प्रिन्सपल चन्दले बताउनुभयो । साथै उहाँले अभिभावक, शिक्षक र विद्यालयबिच त्रिकोणात्मक सम्बन्ध रहेको हुँदा विद्यालयको समग्र विकास र शैक्षिक सुधारका लागि अभिभावकहरुको सुझाव महत्वपूर्ण हुने बताउनुभयो ।

सो भेलामा अभिभावकको तर्फबाट बोल्दै मञ्जु गिरीले विद्यार्थीहरुको शैक्षिक विकासमा सबैको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । साथै उहाँले पछिल्लो समयमा बालबालिकाहरु सामाजिक सञ्जालमा धेरै समय बिताउने गरेका कारण पढाईमा कमजोर हुने गरेको पाईएको हुँदा सबै अभिभावकहरुले सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगको बारेमा जानकारी राखेर आफ्ना नानीबाबुहरुलाई ईन्टरनेटको खराब लतबाट टाढा राख्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै विद्यालयकी क्याप्टेन जानकी धामी र कक्षा ९ मा अध्ययनरत स्मृति भट्टले व्यवहारिक ज्ञान र गुणस्तरिय शिक्षा प्रदान गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिनुका साथै आफुहरुलाई रेडियन्ट माद्यमिक विद्यालयजस्तो राम्रो विद्यालयमा भर्ना गराई बिभिन्न ज्ञागुनका कुराहरु सिक्ने मौका दिएको भन्दै अभिभावक प्रति आभार प्रकट गरेका थिए । उक्त अभिभावक भेलामा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।


ताजा समाचार

spot_img