कृषिमा कमाल शिक्षामा मिसाल गेंदु सर


राजेन्द्रप्रसाद पनेरु /कञ्चनपुर : शिक्षक भएर पनि कृषिमा सफल हुन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण हुन् शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका गेंदुराम राना । पेशाले शिक्षक रहेका राना विद्यालयको समयबाहेक बाँकी समय फलफूल तथा व्यवसायिक खेतीमा व्यस्त रहन्छन् ।

विद्यालयको कामप्रति गम्भीर जिम्मेवारी बोकेका रानाले व्यक्तिगत कृषि व्यवसायलाई विद्यालयको समयमा असर नपर्ने गरी व्यवस्थित बनाएका छन् । उहाँ भन्नु हुन्छ, “विद्यालयबाट बिदा नभएसम्म म खेतको काममा लाग्दिनँ, शिक्षण मेरो पहिलो कर्तव्य हो ।” विद्यालय विदा पछिको बाँकी समयको सदुपयोग भने उहाँले व्यवसायीक खेतीमा गर्नु हुन्छ । उहाँले आफ्नो स्वामित्वमा रहेको दुई विघा र एक विघा ऐलानी गरी तीन विघा जग्गामा फलफूलदेखि अन्नबालीसम्मको खेती गर्दै आएका छन् ।दश कठ्ठा जमिनमा आँप खेती गरिएको छ । अहिले उहाँको बारीमा दशहरी, माल्दा, निलम, चौंसा, आम्रपाली, बम्बै जातका आँप लटरम्म फलेका छन् ।

आँप टिप्ने, ग्रेडिङ गर्ने र बजार व्यवस्थापन गर्ने कार्यमा उहाँको व्यवस्तता बढेको छ । आँपबाट सिजनमा एक सय कुण्टलभन्दा बढी उत्पादन हुँदै आएको र करिब एक लाख रुपैयाँ आम्दानी हुने उहाँ बताउनुहुन्छ । १७ कठ्ठामा उहाँले जि नौ जातको केरा खेती गर्नु भएको छ । केरा खेतीबाट रानाले लागत घटाएर वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ । दशैं र तिहारका बेला केरा बेच्नका लागि तयार हुने भएकाले चाहे जस्तै मूल्यमा बिक्री हुने उहाँ बताउनु हुन्छ । त्यस्तै, पाँच कठ्ठा जमिनमा ५० पोल ड्रागन फ्रुट खेती सुरु गरिएको छ । हालसम्म त्यसको उत्पादन सुरु नभए पनि आगामी वर्षबाट उत्पादन हुने अपेक्षा गरिएको छ ।

रानाको खेतवारीमा सबैभन्दा बढी आम्दानी दिने बाली उखु खेती हो । एक विघा जमिनमा गरिएको उखु खेतीबाट वर्षेनी छ सय कुण्टलभन्दा बढी उखु उत्पादन हुने र करिब रु चार लाख आम्दानी हुने रानाले बताउनु भयो । उहाँले तिल, मकै, गहुँ, बेमौसमी आलुजस्ता बाली पनि उत्पादन गर्दै आउनुभएको छ । उहाँको खेतीको विशेषता भनेको रासायनिक विषादीको सट्टा घरमै बनाएको जैविक विषादीको प्रयोग हो । उहाँ भन्नु हुन्छ, “स्वस्थ उत्पादनका लागि जैविक खेतीमा जोड दिनुपर्छ, त्यसैले म रासायनिक विषादी प्रयोग गर्दिनँ ।” उहाँको कृषि सफलताको पछाडि उहाँकी श्रीमती क्रान्ति रानाको उत्तिकै भूमिका छ । क्रान्ति खेतबारीमा दैनिक काममा सक्रिय हुनुहुन्छ ।

गोडमेल, मलजल, फलफूल टिप्नेदेखि व्यापारीसँग मोलमोलाइ गर्ने कार्य क्रान्तिले नै सम्हाल्नुहुन्छ । उहाँको उत्पादीत फलफुलको बजारमा मूल्य नपाउने, कहिलेकाहीँ लागतभन्दा कम मूल्यमा बेच्नुपरेको गुनासो पनि छ । खेतीको काम धेरै भएका बेला रानाले मौसमी कामदारको सहारा लिने गर्नुहुन्छ । उहाँको खेती व्यवस्थित ढंगले सञ्चालित छ । समयको व्यवस्थापन, श्रमको सदुपयोग र परिवारको सहकार्यले शिक्षक भएर पनि कृषि पेशालाई अगाडी बढाउन सकिएको गेंदु बताउनु हुन्छ ।  गेंदु आधुनिक सोचका किसान पनि हुन् । उहाँले खेतीबारेका धेरै कुरा युट्युब हेरेर सिकेका छन् भने केही सरकारी तालिमहरूमा सहभागी भएर आधारभूत ज्ञान प्राप्त गर्नुभएको छ ।

“आजको पुस्ताले प्रविधिको सही उपयोग गर्न सके धेरै सम्भावना छन”् उहाँले भन्नुभयो, “मैले पनि त्यही गरेर व्यवसायिक सुरुवात गरेको हुँ ।” उहाँको भनाइ छ,“सीप भए केही गर्न नसकिने होइन, मेहनत, लगनशीलता र आधुनिक प्रविधिको संयोजन गरे व्यवसायिक सफलताको ढोका आफैं खुल्छ ।” शिक्षक भएर पनि कृषिमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरा गेंदुले गरेर देखाईदिएको वडा अध्यक्ष नवल सिंह राना बताउनु हुन्छ । “शिक्षण र कृषिको सन्तुलन मिलाउँदै नयाँ पुस्तालाई गेंदुले उदाहरणीय प्रेरणा दिएको छ” उहाँले भन्नुभयो, “सार्वजनिक सेवा र व्यवसायिक कृषि दुवैमा उस्तै लगन र ईमानदारिता देखाउने राना समाजका लागि अनुकरणीय पात्र हुन ।”


Loading Viewer...

ताजा समाचार

spot_img