झलारी : शुक्लाफाँटा नगरपालिका ११ अमरपुर स्थीत श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समुहको २३ औं साधारण सभा आइतवार सम्पन्न भएकोे छ । सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐरको सभापतित्वमा आयोजना भएको साधारण सभामा प्रमुख अतिथि वडा अध्यक्ष शेर बहादुर साउद रहनु भएको थियो । साधारण सभामा बोल्दै साउदले सामुदायिक वनका पदाधिकारीहरुले कामकर्तव्य, अधिकार, नीति नियम बारे जानकारी राख्नु पर्ने बताउनु भयो । कारोवारलाई पारदर्शी बनाउनका लागि बैंक मार्फत मात्रै कारोवार गर्ने व्यवस्था मिलाउनु पर्नेमा उहाँले जोड दिनु भयो । बाच्नका लागि वन आवश्यक पर्ने भएकाले संरक्षणमा उपभोक्ताको महत्वपूर्ण योगदान रहने बताउनु भयो ।

विशिष्ठ अतिथि शुक्लाफाँटा सव डिभिजन वन कार्यालयका प्रमुख भोजराज शर्माले सामुदायिक वनमा दोहरो उपभोक्ता भएकालाई हटाईने बताउनु भयो । अधिकार खोज्दा त्यस संग कर्तव्य पनि जोडिएर आउने भएकाले जुन प्रयोजनका लागि सामुदायिक वनबाट काठ लिएको हो, त्यसैका लागि प्रयोगमा ल्याउनु पर्ने उहाँले बताउनु भयो । सहुलियतमा लिएको काठ अरुलाई बेचेको पाईए प्रचलित कानुन अनुसा कारवाही हुने उहाँको भनाई थियो । वन ऐनमा भएको व्यवस्था अनुसार उपभोक्तालाई काठ रु एक हजार तीन सय ७५ तोकिएको उल्लेख गर्नु हुदै उहाँले तोकिएको दर रेट भन्दा कममा बिक्री भएको पाईए पदाधिकारीबाट भराईने बताउनु भयो । प्रदेश सरकारको वन नियमावलीमा तोकिएको दर रेट भन्दा तल बेच्न नपाईने नियम रहेको बताउनु भयो । सामुदायिक वन समन्वय समितिका प्रतिनिधि शिवदत्त पन्तले सामुदायिक वन स्थापना गर्दा उपभोक्तामा देखिने उत्साह पछिल्ला वर्षमा घटदै गएको पाईएको बताउनु भयो । यस सामुदायिक वनका उपभोक्ताको सक्रियतामा वन क्षेत्रलाई डढेलो लाग्नबाट जोगाई संरक्षणमा टेवा पुरयाएको उहाँले बताउनु भयो ।

फेकोफन सुदूरपश्चिम प्रदेश सदस्य नवराज पन्तले सामुदायिक वन संरक्षणमा उपभोक्ताको स्थान सर्वोपरी रहने भएकाले सुपथथ सस्तो मूल्यमा काठ दाउरा पाउने अधिकार पनि उनैलाई रहेको बताउनु भयो । फेकोफनका शुक्लाफाँटा नगरपालिकाका अध्यक्ष गणेशदत्त भट्ट, समाजसेवी करन सिंह ऐर, दशरथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल विक, भीम आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज भट्ट लगायतले साधारण सभाको सफलताको कामना गर्नु भएको थियो । सामुदायिक वनका उपभोक्ताहरुले काठ र दाउराको प्रचलित दर रेट घटाउनु पर्नेमा जोड दिनु भएको थियो । विपन्न परिवारले खरिद गर्न सक्ने गरी काठ, दाउराको मूल्य निर्धारण गरिनु पर्ने उपभोक्ताको माग थियो । साधारण सभामा सामुदायिक वनका सह सचिव अतुल बहादुर ऐरले रु ४६ लाख २४ हजार ५६९ बरावरको आय व्ययको विवरण प्रस्तुत गर्नु भएको थियो । सामुदायिक वनका अध्यक्ष अम्मर बहादुर ऐरले साधारण सभामा वार्षिक प्रतिवेदन पढेर सुनाउनु भएको थियो । वार्षिक प्रतिवेदनमा हाल भएका गतिविधि र आगामी योजना बारे उहाँले जानकारी गराउनु भएको थियो ।







