कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ५ राजपुर खजुवा स्थीत बैजनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई आज पोशाक वितरण गरिएको छ । वडा कार्यालयको रु दुई लाख बजेटमा एक सय ६८ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो । छात्रा ५० र छात्र एक सय १८ जनालाई तयारी विद्यालय पोशाक वितरण गरिएको वडा अध्यक्ष चक्र बहादुर खडकाले बताउनु भयो ।
“आर्थिक अबस्था कमजोर रहेका परिवारका विद्यालयमा अध्ययनरत छात्रा छात्रालाई प्राथमिकतामा राखेर विद्यालय पोशाक वितरण गरिएका छौं” उहाँले भन्नुभयो, “विद्यालयमा अध्ययनरत कुनै पनि बालबालिका विद्यालय पोशाकबाट बञ्चित नहुन भन्ने उद्देश्य राखेर पोशाक वितरणको कार्य गरिएको छ ।” उहाँका अनुसार विद्यालयमा दलित, मुक्त हलिया, मुक्त कमैंया, बादी लगायत आर्थिक रुपमा विपन्न परिवारका बालबालिका अध्ययनरत रहेका छन ।
विद्यालयको गुणस्तर सुधारका लागि गर्नु पर्ने अन्य कार्य गर्नका लागि प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नु भयो । “नगरपालिकाबाट बजेटको अख्तियारी छाडेको छैन” वडा सदस्य जीवन पाण्डेयले भन्नुभयो, “उधारोमा विद्यालय पोशाक खरिद गरी वितरणको कार्य गरेका छौं ।”