महेन्द्रनगर विकास पिडित संयुक्त संघर्ष समितिद्वारा शुभकामना आदान प्रदान

खडक बहादुर कोली/महेन्द्रनगर : महेन्द्रनगर विकास पिडित संयुक्त संघर्ष समितिले आउदै गरेको विजय दशमी तथा शुभ दीपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । खोकाछाप्राका प्रतिनिधि राम नाथको सभापतित्वमा कार्यक्रम गरिएको छ । संयुक्त संघर्ष समितिका संरक्षक तथा प्रमुख अतिथि समेत रहेका महेश पन्तले सुकुम्बासी, हलिया, मुक्त कमैया र खोकाछाप्राहरुको उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिएका छन ।

त्यसैगरी अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव तथा सुप इन्चार्ज आनन्द सिंह धामीले पटक–पटक आयोग गठन गरेपनि सुकुम्बासीको उचित व्यवस्थापन हुन नसकेकोले दुखेसो पोखेका छन । उनले बर्षौदेखि कञ्चनपुर लगायत सुदूरपश्चिमका सुकुम्बासीहरुको बास, गास, कपास, शिक्षा, स्वास्थ्य लगायतको व्यवस्थापन गरिदिन स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारलाई अनुरोध गरेका छन । मदन आश्रित टोलका अध्यक्ष लहान चौधरीले शुभकामना आदान प्रदान गर्ने क्रममा नेपाल सरकार र स्थानीय सरकारले वर्षौदेखि सुकुम्बासीको व्यवस्थापन नगरेकोले पिडा भोग्नुपरेको बताए ।

त्यसैगरी ग्रीन टोलका अध्यक्ष मोतिलाल उरावले आफ्ना मागहरु पुरा गर्न सबैले एकजुट हुनुपर्ने बताए । कार्यक्रमको सञ्चालन संघर्ष समितिका सचिव दान सिंह विष्टले गरेका थिए । कार्यक्रममा ७ वटा सुकुम्बासी टोल, खोकाछाप्राका प्रतिनिधि, हलिया, मुक्त कमैया लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार