कञ्चनपुर : आन्तरिक पर्यटकीय गन्तव्य बनेको कञ्चनपुरको बेलौरी नगरपालिका स्थित शोभा तालमा ढुङ्गा संचालनमा आएको छ । बेलौरी नगरपालिका ५ रामनगरमा रहेको शोभा तालमा ढुङ्गा संचालनमा आएको हो । पर्यटकीय आकर्षणको केन्द्र रहेको शोभातालमा गत महिनादेखि ढुङ्गा संचालनमा आएको नगरपालिकाले जनाएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले तालमा ढुङ्गा(बोट) संचालनमा आएको बताए ।
नगरप्रमुख चौधरीले शोभातालको पर्यटन विकासका लागि ५ हाँसशैलीका ढुङ्गा संचालनमा आएको बताए । मेयर चौधरीका अनुुसार संघीय सरकारको ससर्त अनुदान बाट ५ थान ढुङ्गा संचालनमा आएको छ । नगरको नीति तथा कार्यक्रममा तालहरू मध्ये शोभाताल पनि पर्यटकीय हबको रुपमा विकास गरिने निर्णय भए अनुरूप काम अगाडि बढाइएको र केही दिन बेलौरी नगरपालिका वडा नम्बर १,२ र ३ मा रहेको बन्धातालको पर्यटन विकासका लागि टेण्डर प्रकिया बढाइने समेत मेयर चौधरीले बताए । शोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले तालको पर्यटन विकासका लागि पालिकाबाट सामाग्री उपलब्ध भएसगै संचालनमा ल्याउने बताए ।
उनले शोभातालाई थप पर्यटकीय आकर्षक गन्तव्य बनाउन ढुङ्गा महत्वपूर्ण रहेको बताए । शोभातालमा ढुङ्गा संचालन भएसंगै आन्तरिक पर्यटन प्रर्बद्धन भई नगरको आन्तरिक स्रोतमा समेत बृद्धि हुने अपेक्षा गरिएको छ । अहिले तालमा १ थान गौतम बुद्धको मूर्ति र १ थान सेल्फी स्टेण्ड लगायत सामाग्री राखिएका छन । ढुङ्गा संचालनमा आएसंगै आन्तरिक पर्यटन रमाउन थालेका छन ।