केशव सिंह थापा/ हरिश्चन्द्र बाग ,कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीमा शुक्रबारदेखि सञ्चालन भएको रामलीला महोत्सवमा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको छ । बेलडाँडी रामलीला मुल आयोजक समितिद्वारा बेलडाँडी गाउँपालिका नजिकैको खुला मैदानमा आयोजित रामलीला महोत्सवमा शनिबार दोस्रो दिन २ हजार ५ सय भन्दा बढी दर्शकहरूले प्रत्यक्ष रूपमा उपस्थित भएर अवलोकन गरेको समितिका सचिव मदन भट्टले बताउनु भयो ।
रामलीला मञ्चनको दोस्रो दिनका प्रमुख अतिथि समेत रहनु भएका अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष मर्यादा बिष्टले नयाँ पुस्तामा देखिएको विकृतिलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने प्रतिक्रिया दिनुभयो । धर्म, संस्कृति, संस्कार, अनुशासन र नैतिक शिक्षा प्रदान गर्न रामलीला महोत्सवले प्रेरणा दिने उहाँको विश्वास छ । यसका साथै ग्रामीण क्षेत्रका व्यक्तिहरूको व्यस्त जीवनशैली र दिनभरको थकानलाई तनावमुक्त बनाउन पनि रामलीला कोशेढुंगा सावित हुने उहाँको भनाइ छ ।
दोस्रो दिनको कार्यक्रममा मुगु जिल्लाका सहायक सिडियो बेलडाँडी निवासी रविन्द्र ओखेडा र नेकपा एमालेका जिल्ला सदस्य लक्ष्मी भट्ट विशिष्ट अतिथि रहनु भएको बेलडाँडी रामलीला समितिका महासचिव जयबहादुर कुँवरले जानकारी दिनुभयो । नयाँ पुस्तामा सामाजिक सद्भाव, कर्तव्य बोध गराउन रामलीला महोत्सव मार्ग दर्शन हुने रामलीला समितिका संयोजक कमान बिष्टले विश्वास व्यक्त गर्नुभयो ।