कञ्चनपुर: कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा बरिष्ठ व्यवसायी प्रकासराज पन्त चयन भएका छन । शनिबार सम्पन्न भएको बेलौरी उद्योग वाणिज्य संघको पाचौँ अधिवेशनबाट अध्यक्षमा पन्त सर्वसम्मत भएका हुन । बेलौरी उद्योग वाणिज्य संघको संस्थापक सदस्य समेत रहेका पन्त यस अघि उपाध्यक्षको जिम्मेबारीमा थिए । यस पटक पन्तकै काँधमा बेलौरी उद्योग वाणिज्य संघको जिम्मेबारी आएको छ । बरिष्ठ उपाध्यक्ष महेन्द्रसिह बुडाल, उद्योग उपाध्यक्ष राजेन्द्र बहादुर चन्द , वाणिज्य उपाध्यक्ष बसन्त पुनमगर महासचिव रामेश्वर न्यौपाने , सचिव रिता चौधरी चयन भएका छन । सदस्यहरुमा बासुदेव भट्ट(शित्तल),कैलाशसिह विष्ट, यम बहादुर खत्री, दिनेश चौधरी,तारासिह विष्ट, आलोचना श्रेष्ठ, अशोक चौधरी रहेका छन । यस पटक संघमा सहमतीय आधारमा नेतृत्व एव समिति चयन भएको छ ।

बेलौरी उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेका अध्यक्ष प्रकास राज पन्तले बेलौरी भन्सार नाका स्तरबृद्धिको सकल्प लिएका छन । जिल्लाकै पहिलो सदरमुकाम रहेको भन्सारको स्तरबृद्धि गर्देै आयात निर्यात नेपाल भारत व्यापार सन्तुलन गर्ने आफ्नो लक्ष्य रहेको बताए । ‘यो नाका हाम्रो आजको होईन पहिलेदेखि नै थियो, उतिबेलादेखि छोटी भन्सार मात्रै छ, ‘उनले भने, ‘नाका स्तरबृद्धि नहुँदा यहाँका व्यवसायीहरुलाई आयात निर्यातमा समस्या भएको छ, त्यसलाई समेत निराकरण गर्छु ।’ बेलौरी नाका विस्तारसंगै जिल्ला मात्रै होईन प्रदेशकै आर्थिक विकासको ढोका खुल्ने अध्यक्ष पन्तको भनाई छ ।

नाकाको स्तरबृद्धि गर्दै बेलौरीलाई जुरुक्क उठाउँदै देशको समेत आन्तरिक आयबृद्धि गर्ने भएकाले आर्थिक बृद्धि विकासमा समेत टेवा पुग्ने भएकाले नाका विस्तारको विकल्प नभएको बताए । अध्यक्ष पन्तले बेलौरी सहितको दक्षिणी क्षेत्रका भौतिक पूर्वाधार सडक सञ्जाल प्रदेशको राजधानी समेत रहेको धनगढी, जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडक सहितका सडक विस्तारका कार्यक्रम अघि बढाउन पहल गर्ने सकल्प लिएका छन । पुस्तौँदेखि व्यवसाय गर्दै आएका पन्तले आम उ्रद्योगी, व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । यस पटक संघको अधिवेशनमा विगतको जस्तो सयौँ उद्योगी, व्यवसायीहरुको सहभागिता नभएकोले समेत सघप्रति उद्योेगी, व्यवसायीको आकर्षण किन घटिरहेको भन्ने विषयमा समेत चासो व्यक्त गरिएको छ ।











