कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा अन्तराष्ट्रिय विपद् जोखिम न्युनिकरणको दिवसको अवसरमा प्रभातफेरी र सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ् । महाकाली सामुदायिक विपद् व्यवस्थापन समिति दोधारा चाँदनीको आयोजना र डिसीए, एनएनएसडब्लुए, युनिसेफ, दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा दोधारा चाँदनी नगरपालिका– ९ आमभोज बजार क्षेत्रमा प्रभातफेरी र सडक नाटक कार्यक्रम सम्पन्न गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० बाट संचालन गरिएको र्याली वडा नं. ९ आमभोज बजार क्षेत्रमा पुगेर कोण सभामा परिणत भई जनचेतनामुलक सडक नाटक गरि सम्पन्न गरिएको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो ।


दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७, ८, ९ र १० वडाहरु बाढीको उच्च जोखिममा रहेको वडाहरु भएको कारण समुदाय स्तरमा सचेतना जगाउन प्रभातफेरी र सडक नाटक कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले प्राकृतिक प्रकोपको जोखिम बढाएको बताउनुभयो ।


बाढी ग्रस्त बस्तीहरुमा पालिकाले जोखिम न्युनिकरण गर्नको बिभिन्न काम गर्दै आएको बताउदै दोधारा चाँदनी नगरपालिकामा रहेका क्रियाशिल गैरसरकारी संस्थाहरुले बिगत लामो समय देखि सघाउदै आएको नगर प्रमुख लिम्बुले बताउनुभयो । कार्यक्रममा कलाकारहरुले नाटकद्धारा विपद् जोखिम न्युनिकरण गर्न के–के गर्नु पर्छ भन्ने बिषय प्रस्तुत गरेका थिए ।











