कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार सडकमै रोपाई गरिएको छ । स्थानीयले बुधबार सडक नबनेको बिरोधमा सडकमै रोपाई गरेका हुन बसपार्क– चम्मनचोक– क्याम्पस रोड सडक अन्र्तरगत खानेपानी कार्यालय पश्चिम तर्फ रहेका व्यवसायीले सडकमै रोपाई गरेका छन । व्यवसायी समेत रहेका रविन्द्र ओझाले नगरपालिकाले सडक नबनाएपछि सडक छेउमा खाडल परेको बताए । ‘नगरपालिकाले सडक बनाउन ढिलार्ई गर्दा सडक छेउमा खाडल भयो, ‘उनले भने, ‘घाम लागेका बेला घुलाम्मे र पानी परेका बेला हिलाम्मे हुनथाल्यो ।’

उनीहरुले सडक बनाउन ढिलाई गरेको बिरोधमा भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल कुमार भट्ट, उपप्रमुख निलम लेखक जोशी र प्रमुख पदम बोगटीको फोटो समेत टाँसेका छन । स्थानीयले समयमै सडक बनाउन माग अघि सारेका छन । क्षेत्रीय शहरी विकास परियोजना (आरयूडिपी) अन्र्तरगत महेन्द्रनगर सडक निर्माण भईरहेका छन ।

उक्त स्थानमा विवाद आउँदा पालिकाले सडक निर्माण कार्य रोकेको छ । भीमदत्त नगरका प्रवक्ता महेन्द्र खडकाले उक्त क्षेत्रमा सडक विस्तारका क्रममा नगरविकास समितिको २२ सटरमा व्यवसाय गर्दै आएका व्यवसायीको वैकल्पिक व्यवस्था नहुँदासम्म सडक निर्माणदाता एडिबीले काम अघि नबढाएपछि काम रोकिएको बताए । ‘एडिबीको आफ्नै अन्र्तराष्ट्रिय मुल्य मान्यता छ, ‘उनले भने, ‘सोही अनुरुप सो क्षेत्रमा सडक बन्न ढिलाई भएको छ, ४का वडाध्यक्ष शुशिल कुमार भट्टको अध्यक्षतामा एक कार्यदल बनेको छ, जिविकोपार्जन गर्दैै आएका व्यवसायीको बैकल्पिक व्यवस्था भएपछि उक्त घर तोडेर र सडक निर्माण हुन्छ ।’







