कञ्चनपुर: सामाजिक विकास मन्त्रालयले कञ्चनपुरका २ जना सहित प्रदेशमा रहेका ११ जना उद्यमीलाई सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालयले तयार गरेको उत्कृष्ट उद्यमी सम्मान कार्यविधि, २०७९ अनुसार छनोट भएका ११ जना यद्यमीलाई धनगढीमा सम्मान गरिएको हो । कञ्चनपुरबाट कृष्णपुर–४ मा रहेको फोर फक्स क्याटल एण्ड ह्याचरी उद्योगका सञ्चालक हरेन्द्रबहादुर वोहरा, शुक्लाफाँटा–५ मा रहेको हुनैनाथ गार्मेन्टका सञ्चालक हेमा भट्टलाई नगद ५० हजार सहित उनिहरुलाई सम्मान गरिएको हो । भएको कार्यक्रममा सामाजिक विकास मन्त्री झपटबहादुर साउँले विभिन्न उद्यम गरिरहेका ११ जनालाई जनही नगद ५० हजार पुरस्कारसहित सम्मान गरेका हुन् ।

यस्तै,सम्मानित हुनेमा चुरे गाउँपालिका वडा नम्बर ५ मा रहेको सुदूरपश्चिम एकीकृत कृषि तथा पशुपन्छी फर्मका सञ्चालक विकास न्यौपाने, र अछामको चक्र मिलन फर्निचर उद्योगका सञ्चालक चक्रबहादुर चलाउने रहेका छन्।यस्तै, बझाङको मष्टा गाउँपालिका वडा नम्बर ७ मा रहेको हिमालयन नेपाली कागज उद्योगका सञ्चालक प्यारीलाल जेठारा, बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ मा रहेको हिमाली नेपाली हाते कागज उद्योगका सञ्चालक चन्द्रवीर बुढा र त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको प्रतिभा नेपाली हाते कागज उद्योगका सञ्चालक धनादेवी थापालाई सम्मान गरिएको छ ।

उत्कृष्ट उद्यमीको सम्मान पाउनेमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ को ग्रीन माउन्टेन कृषि विकास फर्मका सञ्चालक सावित्रा ओझा र अजयमेरू गाउँपालिका वडा नम्बर ३ मा रहेको जिआर कृषि तथा पशुपालन फर्मका सञ्चालक लक्ष्मीकान्त पनेरू रहेका छन् । यस्तै, बैतडीको पुरचौडीं नगरपालिका वडा नम्बर ७ मा रहेको राताशिला कुटानी पिसानी उद्योगका सञ्चालक जयसिंह साउँद र दार्चुलाको महाकाली नगरपालिका–४ मा रहेको राजेश सिलाई सेन्टरका सञ्चालक राजेशसिंह नेपालीलाई उत्कृष्ट उद्यमीको सम्मान मिलेको छ । सम्मान कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका प्रदेश अध्यक्ष रुकमिणी देवकोटाले उद्यमीलाई सम्मान गर्दा अन्यलाई पनि उद्यम गर्न प्रेरणा प्राप्त हुने बताइन् । उनले उद्यमी हुन सके आत्मसम्मान मिल्ने र आर्थिक अवस्थामा पनि सुधार हुने बताइन् ।







