१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको तयारी तीव्र, कात्तिक २८ देखि तीन जिल्लामा प्रदेशस्तरीय छनोट


धनगढी: कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले खेलाडी छनोट प्रक्रिया अघि बढाएको छ।

राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न प्रदेश खेलकुद परिषद्ले आगामी कात्तिक २८ गतेदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का ‘रबी’ले जानकारी दिएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले प्रतियोगिताको तयारी, खेलाडी छनोट तथा सहभागिताबारे जानकारी गराएको हो।

सदस्य–सचिव खड्काका अनुसार प्रदेशका नौवटै जिल्लाबाट विभिन्न खेल विधामा गरी २ हजार ४ सय ६४ जना खेलाडी छनोट भएर आएका छन्। जिल्लास्तरबाट छनोट भएका खेलाडीबीच प्रदेशस्तरीय प्रतिस्पर्धा गराई राष्ट्रिय खेलकुदमा सहभागी हुने अन्तिम टोली तयार गरिनेछ।

परिषद्का अनुसार कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडी, अफिसियल तथा प्रशिक्षक गरी ७ सय ४४ जनाको सहभागिता रहनेछ। प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्लामा सञ्चालन गरिनेछ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ३० वटा खेल विधामा सहभागिता जनाउने तयारी गरेको छ। सोहीअनुसार आवश्यक खेलाडी तथा प्रशिक्षक छनोट गर्न प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ।

प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएर आएका खेलाडीलाई सम्बन्धित खेल विधामा प्रतिस्पर्धा गराइनेछ। प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।
राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्दै राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने महत्वपूर्ण अवसर भएकाले छनोट प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउन परिषद्ले विशेष तयारी गरिरहेको जनाएको छ।

सुदूरपश्चिमका खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशका लागि पदक जित्ने लक्ष्यसहित तयारीमा जुटेका छन्। प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडी छनोट गरी आवश्यक प्रशिक्षण तथा व्यवस्थापनसहित राष्ट्रिय प्रतियोगिताका लागि टोली तयार गरिनेछ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित सुदूरपश्चिम प्रदेशले खेलाडी छनोटदेखि प्रशिक्षण र व्यवस्थापनसम्मको तयारीलाई तीव्रता दिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img