शिवशिखर सहकारीको ठगिले कञ्चनपुरका अढाई हजार जनताको २० करोड बढि जोखिममा

कञ्चनपुर :भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउदेशीय सहकारी संस्थाले कञ्चनपुरमा समेत ठगि गरेको छ । भीमदत्त नगरपालिका ६ महेन्द्रनगरमा शिवशिखर बहुउदेशीय सहकारीले शाखा विस्तार गरेको एक बर्ष नपुग्दै बचतकर्ताको रकम ठगेको हो । बचतकर्ताबाट संकलन गरेको रकम ठगेपछि उनीहरुले बेलाबेलामा सहकारी बिरुद्धमा आन्दोलन गर्दा समेत बचत रकम फिर्ता पाइनन् । उक्त शहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि कञ्चनपुरका जनताको करोडौँ रकम डुबेको छ ।

शिवशिखर बहुउदेशीय सहकारीले ठगेपछि हजारौँ बचतकर्ताको करोडाँैँ रकम डुबेको हो । पीडितले बचत रकम फिर्ता र ठगमाथि कार्बाहीको माग अघि सारेका छन । बचतकर्ताले जिल्ला प्रहरी कार्यालयमा रकम समेत दावि गर्दै उजुरी दिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले उक्त सहकारीबाट ठगिएका २ हजार ४ सय ९६ जना सेवाग्राहीले निवेदन दिएको बताए । अहिलेसम्म उक्त निवेदकहरुले २० करोड, ७८लाख, २४ हजार, १सय ७७रुपैया ठगिएको दावि गरेको प्रवक्ता डाँगीले बताए । ‘प्रति ग्राहक ३० हजारदेखि ४० लाख रुपैयासम्म बचत गरेको निवेदन आएको छ, ‘उनले भने, ‘हामीले आएका निवेदन उपर छानबिन अघि बढाएका छौँ ।’

सहकारीका बचतकर्ताले गत माघमा बचत रकम फिर्ता मागेपनि नदिएपछि तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । सहकारीका बचतकर्ता ऋर्षी सुवेदीले यस्ता ठगमाथि हदैसम्मको कार्बाहीको माग अघि सारेर प्रहरीमा उजुरी दिएको बताए । उनका अनुसार रकम फिर्ता नपाएका बचतकर्ताले रकम फिर्ता गरिनुपर्ने र ठगि गर्नेमाथि कार्बाहीको माग अघि सारेर निवेदन दिएको बताए । अर्का बचतकर्ता रामदत्त भट्टले सर्वसाधारणको बचत गरेर रकम दुरुपयोग गर्नेमाथि कानुनी कार्बाहीको माग सहित सबै बचतकर्ताको रकम फिर्ता हुनुपर्ने बताए । एक लाख भन्दा बढि सर्वसाधारणबाट १४ अर्ब भन्दा बढि रकम ठगिएको आरोपमा शिवशिखर बहुउदेशीय सहकारी संस्थाका अध्यक्ष गिता शर्मा, संचालकद्वय पुष्कर मल्ल,अमिस राजभण्डारीलाई भक्तपुर जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको छ । महेन्द्रनगर शाखाबाट समेत बचतकर्ता ठगिएपछि महिनौँदेखि सहकारीमा ताला लागेको छ । यस्ता ठग सहकारीमाथि कार्बाही गर्दै थप सहकारीको ठगि प्रकरण समेत छानबिन हुनुपर्नेमा जोडदिईएको छ ।

ताजा समाचार