महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन ले कृष्णपुर नगरपालिकामा दरबन्दी मिलान कार्यविधि २०७७ लाई लत्याउदै शिक्षक दरबन्दी मिलान भईरहेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षकहरुको गरिमा तथा मानमर्यादामा समेत आँच पु¥याउने तवरले हालै मात्र कृष्णपुर नगरपालिकामा नगर शिक्षा समितिले गरेको दरबन्दी मिलान विद्यालय मर्जिङ, डाउन साइजीङ तथा आस्था र विचारका आधारमा नेपाल राष्ट्रिय शिक्षक संगठनका साथीहरुप्रति देखाएको व्यवहार प्रति ने.रा.शि. संगठन कञ्चनपुरको ध्यानाकर्षण भएको जनाएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले दरबन्दी मिलानका नाममा दरबन्दी मिलान कार्यविधि २०७७ समेतलाई लत्याउदै गरिएको मिलान कुनै पनि हालतमा आफुलाई मान्य नहुने भन्दै विषयवस्तुहरु यथासिघ्र परिमार्जन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । ६ बुदे माग राखेको शिक्षक संगठनले आन्दोलनको परिणामको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने चेतावनी समेत दिएको छ । संगठनले दरबन्दी मिलान कार्यविधि २०७७ मा उल्लेखित प्रावधान अनुसार विद्यार्थी संख्याको अनुपातमा शिक्षकको व्यवस्थापन गरिनु पर्ने, दरबन्दी मिलान कार्यविधि २०७७ ले स्पष्ट रुपमा उल्लेख गरेको स्वीकृत दरबन्दी कुनै पनि प्रकृतिको शिक्षक साटासाट नहुने प्रावधान विपरित नगर अनुदानमा राखिएका शिक्षकहरुसँग स्वीकृत दरबन्दीमा रहेका शिक्षकहरुको साटासाट अविलम्ब फिर्ता हुनुपर्ने, दरबन्दी मिलानका नाममा शिक्षकहरुलाई दिइएको पत्रमा सरुवा/पदस्थापन /कामकाज के हो स्पष्ट हुनु पर्ने, दरबन्दी मिलान कार्यविधि २०७७ मा स्पष्ट उल्लेख हुँदा हुँदै अपाङ्ग, महिलालाई सकेसम्म पायक राख्नु पर्नेमा प्रावधान विपरित आस्थाका भरमा अपायक सारिएको सच्याउनु पर्ने, मर्जिङ्ग हुने विद्यालय तथा सो विद्यालयका व्यवस्थापन समितिको सहमति बिना एकलौटी ढंगले गरिएको सामुदायिक विद्यालयको मर्जिङ्ग तथा डाउन साइजिङ्ग बदर हुनुपर्ने र कुनै विद्यालयमा विद्यार्थीहरुको अनुपातमा शिक्षकहरुको संख्या बढी भएको तर कम शिक्षक संख्या भएको विद्यालयमा बढी संख्या भएकोबाट मिलान गर्नुको सट्टा नातावाद कृपावादको आधारमा विद्यालयमा नगर अनुदान विद्यालय बाड्दै आफू निकटका व्यक्तिहरुको भर्तिकेन्द्र बन्द गरिनु पर्ने माग राखेको छ । प्रेस विज्ञप्तीमा नेपाल शिक्षक संगठन का जिल्ला अध्यक्ष वेदप्रसाद उपाध्यायको हस्ताक्षर छ ।






