सुदुरपश्चिम विश्वविद्यालय कानून संकायले अन्तर्क्रिया गर्दै मनायो कानून दिवस


गणेश एसके/ कञ्चनपुर : सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कानून संकायले कानून दिवस २०८० मनाएको छ । मंगलबार जिल्लाको महेन्द्रनगर स्थित केन्द्रीय क्याम्पसमा कानून संकायद्वारा आयोजित“कानुन कार्यान्वयनमा सरोकारवालाको भुमिका ”विषयक छलफल अन्तर्क्रिया गर्दै कार्यक्रम सम्पन्न भएको हो । विश्वविद्यालयमा विएएलएलवि (BALLB) अध्यनरत विद्यार्थीद्वारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी उच्च सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता दमन सिंह विष्टले कानून र न्यायका क्षेत्रमा कानूनका विद्यार्थीहरुले कानुनको परिपालना गराउन भूमिका खेल्नुपर्ने बताए ।

विगतको कानुनी इतिहासको देन नै अहिलेको कानुनी राज्य स्थापनाको आधार रहेको सहन्यायाधिवक्ता विष्टले भनाइ छ । उनले भने , “ अहिलेको प्रजातन्त्रको मेरुदण्ड भनेको स्वतन्त्र न्यायपालिका हो र जसले नै आम जनतालाई स्वतन्त्र न्यायपालिका र शक्ति सन्तुलनको प्रत्याभूति भएको छ । ”कानूनको कार्यान्वयनको लागि नेपालमा रहेको राजनीतिक अस्थिरताले चुनौती खडा गरेको उनको भनाइ थियो । राजनीतिमा आउने फेरबदलकै कारण नेपालमा बेला बेलामा संविधान परिवर्तन भइरहँदा न्यायिक स्थायित्व कायम नभएको , सहन्यायाधिवक्ता विष्टले भने । कार्यक्रममा सहभागी वक्ताहरुले कानुन कार्यान्वयनमा सबै सरोकारवाला निकायले आआफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए । सुदुरपश्चिम विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले विश्व भरिकै कानुनी क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरी मिहिनेतका साथ अध्यनन् गर्नुपर्ने कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई वक्ताहरुले सुझाव दिए ।

भीम भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अथितिमा उच्च सरकारी वकील कार्यालय महेन्द्रनगरका सहन्यायाधिवक्ता दमन सिंह विष्ट, विशिष्ट अथिति नेपाल कानून परिषद्का पार्षद प्रकाश पाण्डे , अथितीहरुमा सुदुरपश्चिम विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका सहायक डीन प्रेम सिंह भाट,उच्च बार एसोसिएसन महेन्द्रनगर अध्यक्ष यज्ञराज जोशी र कञ्चनपुर जिल्ला बार एसोसिएसनका अध्यक्ष कृष्णदेव जोशीको थियो भने कार्यकम सञ्चालन गणेश सार्कीले गरेका थिए । उक्त कार्यक्रममा केन्द्रीय क्याम्पसमा विएएलएलवि (BALLB) अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img