कञ्चनपुर : अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका १२ स्थीत आधारभूत स्वास्थ्य केन्द्र कालागौडीमा आज आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट २०९ जनाले स्वास्थ्योपचार सेवा लिएका छन ।
पेशागत महासङघ नेपाल जिल्ला समिति कञ्चनपुरको आयोजनमा सञ्चालन गरिएको शिविरमा उपचारका लागि आएका विरामी मध्ये हाइड्रोशिल भएका सात जना र पाठेघरमा समस्या भएका एक जना गरी आठ जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा निःशुल्क शल्यक्रिया गर्नका लागि सिफारिस गरिएको महासङघका कञ्चनपुर अध्यक्ष देवदत्त जोशीले बताउनु भयो । उहाँका अनुसार शिविरमा स्त्रीरोग विशेषज्ञ, जनरल फिजिसिएन, सर्जन, गाईनो सम्बन्धीका चिकित्सकले शिविरमा पुगेका विरामीको स्वास्थ्य चेकजाँचको कार्य गर्नु भएको थियो ।

उपचारका लागि पुगेका धेरै जनामा सुगर, छाला सम्बन्धी समस्या, स्वासप्रश्वास सम्बन्धी समस्या रहेको पाईएको शिवरमा उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिनु भयो । “शिविरमा उपचारका लागि पुगेका ६५ वर्षिय बम्मन रानाले लोकलाजका कारण १० वर्ष देखि हाईड्रोशिल भएपनि चेकजाँच गराउन नगएको बताउनु भयो । “घर आँगनमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार गराउन गए” उहाँले भन्नु भयो, “निकै पिडा सहेर बसेको थिए, चिकित्सकले निःशुल्क शल्यक्रिया गरेर ठिक हुने अश्वासन दिएकाले निकै खुसि भएको छु ।” शिविरको उद्घाटन गर्नु हुदै पूर्व सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खडकाले दुर्गमको बस्तीमा आयोजना भएको स्वास्थ्य शिविरबाट आर्थिक रुपमा विपन्न परिवारका व्यक्तिहरु बढी लाभान्वीत हुने बताउनु भयो । विरामीभै उपचार गराउन स्वास्थ्य संस्थामा पुग्न नसकेका व्यक्तिहरुका लागि स्वास्थ्य शिविरले सहयोग पुरयाउने उहाँको भनाई थियो । वडा अध्यक्ष नवल सिंह रानाले स्वास्थ्य शिविर आयोजना गरी वडाका बासिन्दाले घर दैलोमै सेवा पाउन सकेको बताउनु भयो । स्वास्थ्य शिविर सञ्चालनमा प्राविधिक सहयोग महाकाली प्रादेशिक अस्पताल महेन्द्रनग र जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको छ । शिविर व्यवस्थापनको कार्य नगरपालिकाको वडा नं १२ ले गरेको छ ।







