कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिकाले समयमै नीती तथा कार्यक्रम तयार पार्नेमा जिल्लामा पहिलो पालिका बनेको छ । योजना तर्जुमा दिग्दर्शन २०७८ मा गरिएको नीतीगत व्यवस्था अनुसार बैशाख ७ गते पालिका प्रमुखले सभामा नीती तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था अनुरुप पालिकाले बिहिवार एक कार्यक्रम गर्दै सभामा नीती तथा कार्यक्रम पेश गरेको छ । कञ्चनपुरका अन्य पालिकाले भने योजना तर्जुमा दिग्दर्शन २०७८ मा गरिएको नीतीगत व्यवस्था अनुसार नीती तथा कार्यक्रम बनाउन सकेका छैनन् । नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले आफनो पालिकाको टिम कर्मचारी सम्पुर्णको अथक मिहिनेत प्रयासले समयमै आज नगरसभामा नीती तथा कार्यक्रम पेश गरेकोे जानकारी दिए । कञ्चनपुरमा रहेका नौ वटा पालिका मध्ये शुक्लाफाँटा नगरपालिकाले पनि नीती तथा कार्यक्रम तयार पारेको भएपनि बैशाख ७ भित्र नगरसभा पेश गर्न सकेको छैन् ।

नगरपालिकाका नगर प्रमुख रण वहादुर महराले नीती तथा कार्यक्रममा छलफल भइरहेको बताए । उनले यसमा थप छलफल गर्नुपर्ने भएकाले बैशाख १२ गतेको नगरसभामा पशे गर्ने बताए । कञ्चनपुरमा निधार्नरित मितिमा नीती तथा कार्यक्रम बेदकोट नगरपालिकाले मात्रै नगरसभामा पेश गरेको छ । योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार विषयगत शाखाहरुले विषय क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरी मंसिर मसान्त भित्र स्थितिपत्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था छ । त्यसैगरी पुस १५ गतेभित्र विषयगत शाखा र प्रमुख प्रशासकीय अधिकृतले आगामी तीन आ.व.मा हुने खर्चको प्रक्षेपण सहितको मध्यमकालीन खर्च संरचना समेत कार्यक्षेत्र भित्रका विषयहरूमा हुने सार्वजनिक खर्चको विवरण तयार गर्ने र पुस मसान्तभित्र आगामी आ.व. को राजस्व ( आन्तरिक स्रोत, राजस्व बाँडफाँट, रोयल्टी, अनुदान र ऋण) को प्रक्षेपण र अनुमान तयार गरिसक्नुपर्ने व्यवस्था छ । त्यसैगरी पुस मसान्तभित्रै आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ विवरण संघ र प्रदेश अर्थ मन्त्रालयमा पेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

माघ मसान्त भित्र कार्यपालिकाले विषयगत क्षेत्र विभाजन गर्ने र सदस्यलाई जिम्मेवारी दिने तय छ । त्यसैगरी फागुन मसान्तभि संघ र चैत मसान्त भित्र प्रमुख प्रशासकीय अधिकृतले संघ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट र रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने तय गरिएको छ । चैत मसान्त भित्रै पालिका प्रमुखले गैसस, उपभोक्ता समिति, सहकारी संस्था आदिसँग योजना तथा बजेट सम्बन्धमा पूर्व बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ । बैशाख ७ गते नीति तथा कार्यक्रम तयार गरी अध्यक्ष ÷ प्रमुखद्वारा सभामा पेश गर्ने व्यवस्था छ । बैशाख ७ गतेभित्रै बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारणका आधार तथा विधि तयार गर्ने र बैशाख १० गतेभित्र कुल बजेट अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने व्यवस्था छ । त्यसैगरी बैशाख १५ गतेभित्र विषयगत महाशाखा ÷ शाखा तथा वडा कार्यालयलाई बजेट सीमा तथा मार्गदर्शन उपलब्ध गराउने व्यवस्था छ ।







