कञ्चनपुर : मुक्त हलियालाई लक्षित गरी कञ्चनपुरका स्थानिय तहमा कुनै पनि कार्यक्रम तर्जुमा गरिएको पाईएको छैन ।
मुक्त हलिया सशक्तिकरण परियोजना(अधिकार) अन्तर्गत स्थानिय तह परियोजना सल्लाहकार समितिको बैठक तथा नीति निर्माताहरुको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले मुक्त हलिया लक्षित कार्यक्रम नभएको जानकारी गराएका छन ।
शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले लक्षित वर्गलाई लक्षित गरी कार्यक्रम तर्जुमा नगरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले मुक्त हलिया परिवारलाई पुनः स्थापन गर्न स्थानिय तहलाई वित्तिय हस्तान्तरण गरिएको चार वर्ष वित्नै लागेपनि कार्य अगाडी नबढेको बताए । स्थानिय तहले मुक्त हलिया पुनःस्थापना गर्ने अधिकार प्राप्त गरेपनि कुनै पनि कार्यहरु अगाडी नबढाईनु चिन्ताको बिषय भएको बताए ।

पुनः स्थापनको कार्य जुन गतिमा अगाडी बढनु पर्दथ्यो त्यो हुन सकेन उनले भने, मुक्त हलियाको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि कुनै पनि कार्यक्रमहरु सञ्चालन गरिएका छैनन्, रोजगारी, स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन, छात्रबृत्तिका कार्यक्रममा दलितका बालबालिकालाई समेटिएको छैन । मुक्त हलिया लक्षित गरी कार्यक्रम सञ्चालन नहुने हो भने स्थानिय तहमा संघर्षका कार्यक्रम गर्न बाध्य हुने उनको भनाई थियो । दलित अधिकारकर्मी राम बहादुर चुनाराले संविधानको मौलिक हकमै दलित समुदायलाई आवास संगै रोजगारी र बाच्ने हक प्रदान गरिएको बताए । सविधानमा भएको व्यवस्था स्थानिय तहले अक्षरसः पालना गर्नु पर्छ, कार्यविधि, ऐन कानुन बनाएर दलित समुदायका अधिकारलाई संस्थागत गरिनु पर्छ, पिछडीएको दलित समुदायलाई अग्राधिकार नदिईए त्यस विरुद्धको संघर्ष गर्छौ । दुवै स्थानिय तहमा आयोजना गरिएका कार्यक्रममा नगर प्मुख र नगर उप प्रमुखको उपस्थीति नहुनु विडम्बना भएको दलित अगुवाहरुको भनाई रहेको छ । अधिकारका कुरा सुनाउन आएका थियौं, स्थानिय तहका प्रमुखहरुले बहाना बनाएर कार्यक्रममा उपस्थीत नभएर अपहेलना गरेका छन । कार्यक्रममा सहभागी नगरपालिकाका शाखा प्रमुखहरुले मुक्त हलिया लक्षित कुनै पनि कार्यक्रम जानकारी गराएका थिए । शुक्लाफाँटा नगरपालिका कार्यपलिका सदस्य गणेश विकले तत्काल कानुन निर्माण गरी मुक्त हलियालाई अधिकार सम्पन्न बनाउन सबै कार्यपालिका सदस्यले लाग्नु पर्ने बताए ।

वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले मुक्त हलियालाई समाजको मुलधारमा ल्याउनका लागि नीति निर्माण गरी नगरपालिकाबाट प्रवाह हुने सेवा र रोजगारमा आरक्षणको व्यवस्था गरिनु पर्ने बताए । कार्यक्रम ल्याएर कार्यपालिकाबाट निर्णय गराउने कार्यमा मेरो अहं भूमिका रहन्छ उनले भने । युरोपियन युनियनको आर्थिक सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल द्वारा सञ्चालित परियोजना बारे अन्तराम ओडले कार्यक्रमका सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य गणेश ताम्राकारले राखेका थिए । कार्यक्रममा दुवै नगरपालिकाका कार्यपालिका सदस्य, वडा अध्यक्ष, बिषयगत शाखा प्रमुख, दलित अधिकारकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।







