झलारी: शुक्लाफाँटा नगरपालिका–१ मा भइरहेको जग्गा नापजाँचको नगर प्रमुख रणबहादुर महराले निरीक्षण गरेका छन्। मंगलबार स्थलगत निरीक्षण गर्दै नगर प्रमुख महराले २ वर्षभित्र सबै वडामा जग्गा नापजाँचको काम सक्ने बताए। ‘अहिले वडा नं. ९ मा नापीको काम सकेका छौं, वडा नं. १ मा जनशक्ति अनुसार राम्रै काम भइरहेको छ,’ उनले भने, ‘जनशक्ति र आवश्यक उपकरण थपेर दुई वर्षभित्रै जग्गा नापजाँचको काम सक्छौं।’

अव्यवस्थित बसोबासीले छिटोभन्दा छिटो जग्गाधनी प्रमाणपत्र पाउने गरि जग्गा नापजाँचलाई तिब्रता दिएको उनको भनाई छ। ‘जग्गा नापजाँच गरी संधियार राखेर फिल्ड मुचुल्का तयार गरिन्छ,’ उनले भने, ‘तयार गरिएको नक्सा प्रमाणित गर्न आयोगमा पठाउनुपर्ने हुन्छ । त्यसपछि जग्गाको फिल्डबुक कायम गरी जग्गाधनी प्रमाणपत्र बनाइन्छ ।’ वडा नं. १ मा सरकारी र सार्वजनिक गरिको ८० हेक्टर जग्गाको नापजाँच सकिएको शुक्लाफाँटाका अमिन हेमराज अवस्थीले बताए।

‘नापजाँचको काम तिब्र गतिमा भइरहेको छ, बिहान ७ बजेदेखि ११ र दिउँसो २ बजेदेखि साढे ६ बजेसम्म जग्गा नापजाँच गरिरहेका छौं,’ उनले भने, ‘जनशक्ति थोरै छ, ३ जना अमिन, १ जना सर्वेक्षक र २ जना सहयोगी छन्।’ वैज्ञानिक प्रणालीबाट जग्गा नापजाँचको काम भइरहेको उनले बताए। ‘जीपीएस पोइन्ट राखेर नापजाँच हुन्छ, बाटो, खोलानालाको पनि नापजाँच गरिरहेका छौं।’ शुक्लाफाँटा नगरपालिकामा १२ हजार अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपत्रका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालयमा निवेदन दिएका छन्।







