खेलाडी संघद्वारा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले खेलाडीहरुको हकहित र गुनासाहरुलाई समेट्दै नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गलाई ध्यानाकर्षण गराएको छ । बुधबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा संघका अध्यक्ष दीपक श्रेष्ठको अगुवाईमा नवनियुक्त मन्त्री तामाङ्गलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रममा ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
 
अध्यक्ष दीपक श्रेष्ठद्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा आफ्नो सम्पूर्ण जीवन खेलकुदमा विताई राष्ट्रको गौरव बढाउँदा पनि राज्यबाट सुरक्षा अनुभुती हुन नसकेको बताएको छ । यस्तै विगत चार बर्ष देखि राष्ट्रिय खेलकुद परिषद् मार्फत ओलम्पियन, एशियाली खेलकुदका पदक विजेता, तथा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरुले प्राप्त गर्दै आईरकेको खेलाडी प्रोत्साहन भत्ता रोकिएको प्रति मन्त्रीलाई ध्यानकर्षण गरकाएको छ । अघिल्लो आर्थिक बर्ष सम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीले प्रत्येक पदक बापत ६ हजार र दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले प्रतिपदक ६ हजारका दरले प्रोत्साहन भत्ता प्राप्त गर्दै आईरहेका थिए ।
नवनियुक्त मन्त्रीको आगमन पश्चात सहसचिवको संयोजकत्वमा प्रोत्साहन भत्ता कार्यविधी मस्यौदा समिति गठन गरिएकोमा त्यसको स्वागत गर्दै कार्यविधी तयारी पश्चात पुन खेलाडीहरुले त्यसका लागि पहल गरिरहनु नपर्नेमा संघ विश्वस्त रहेको पत्रमा जनाईएको छ । ध्यानाकर्षण पत्रमा हाल रोकिएको प्रोत्साहन भत्ता यथासिघ्र उपलब्ध गराउनु पर्ने, सागका रजत तथा कास्य पदक विजेताका लागि पनि प्रोत्साहन भत्ताका लागि छलफल अगाडी बढाउनु पर्ने, नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पहल गर्नु पर्ने, स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न बाताबरण तयार गर्नु पर्ने, देशको गौरव र प्रतिष्ठा बढाउने खेलाडीहरुको कदर स्वरुप राष्ट्र प्रमुखद्वारा प्रदान गरिने विभुषणबाट विभुषित गर्न ब्यवस्था गर्नु पर्ने र खेलाडीको भविष्य सुनिश्चित हुने नीति अवलम्बन गर्न बिषयगत योग्यता अनुसार रोजगारीको ब्यवस्था गर्नु पर्ने जस्ता माग राखिएको छ ।
मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष दीपक श्रेष्ठले मन्त्रीज्यूले पदबाहालीको पहिलो निर्णयमानै खेलाडीको हक हितका लागि कार्यविधिका लागि मस्यौदा तयार गर्न कार्यदल बनाएकोमा सम्पूर्ण खेल क्षेत्र उत्साहित भएको बताए ।
यस्तै संघका मानार्थ अध्यक्ष दीपक बिष्टले रोकिएको भत्ता यथासिघ्र उपलब्ध गराउनु पर्ने भन्दै अझ त्यसमा बृद्धि गरिएमा उचीत हुने बताए । ओलम्पियन बैकुण्ड मानन्धरले खेलाडीहरुका लागि प्रदान गरिएको रकम अपुग भएको भन्दै खेलाडीलाई हौसला प्रदान गर्ने र उत्साहित गरिने किसिमको प्याकेज ल्याउनु पर्ने बताए ।
ध्यानकर्षण पत्र बुझ्दै मन्त्री तमाङ्गले खेलाडी हकहितका लागि सहसचिवको संयोजकत्वमा कार्यविधी मस्यौदा निर्देशिका समिति बनाईसकेको र उक्त समितिलाई १५ दिनको समय दिएकोमा समितिले कार्य थालि सकेको र उक्त मस्यौदामा छलफल गरि छिटैनै कार्यान्वन प्रकृयालाई अगाडी बढाउने बताए । उनले उनले मन्त्रालयको तर्फबाट हुने सम्पूर्ण कार्यका लागि आफु अगाडी बढ्ने तथा परिणाममुखी र संदेशमुलक कसरी बनाउन सकिन्छ छलफलबाट अगाडी बढ्ने बताए । खेलाडीहरुले प्राप्त गर्ने प्रोत्साहन भत्तालाई कटौती गर्ने नभई त्यसलाई अझ राम्रो गर्ने तर्फ अग्रसर हुने बताए ।

ताजा समाचार

This will close in 10 seconds