कञ्चनपुर

सरकारले संवैधानिक परिषद सम्बन्धी संशोधन अध्यादेश जारी गरेको छ भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको उक्त कदम प्रति आपद जनाएको छ । अध्यक्ष प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्नु पर्ने माग अघि सारेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले पत्रकारहरु सँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको छ । त्यसैले तत्काल फिर्ता गर्नुको विकल्प छैन ।’

