महेन्द्रनगरमा भोली नेपाली कांग्रेसको वृहत आन्दोलन, सम्बोधनका लागि प्रदिप पौडेल आउदै

महेन्द्रनगर

कम्युनिष्ट सरकारको रबैया बिरुद्ध नेपाली कांग्रेस केन्द्रीय कार्यालयले सोमवार (भोली) देशव्यापी रुपमा आन्दोलनको घोषणा गरेको छ । सोहि अनुरुप नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्य समितिले पनि आन्दोलनको तयारी तिव्र पारेको छ । अहिलेको कम्युनिष्ट सरकारले देशलाई भष्ट्राचारमा डुबाएको, दुई बर्ष अघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको हत्यारालाई अहिले सम्म सार्वजनिक गर्न असफल रहेको, विश्वभर माहामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) संग लड्नका लागि सरकारले आम जनताका लागि केहि गर्न नसकेको, उल्टै कोरोनाका नाममा भष्ट्राचारलाई मलजल गरेको जस्ता कुरालाई लिएर नेपाली कांग्रेस कञ्चनपुरले सोमवार बृहत बिरोध सभा गर्ने जिल्ला सभापति हरि प्रसाद बोहराले बताए ।

सरकार सर्वसत्तावादी भइरहेको वर्तमान अवस्थामा नेपाली कांग्रेस कञ्चनपुरले २९ गते हुने सरकारका बेथिती बिरुद्धको आन्दोलनमा आम जनसमुदायमा उपस्थितिका लागि अनुरोध गरेको छ । आम जनताका सामु सरकार निरिह र नालायक बन्दै गरेको अवस्थामा नेपाली कांग्रेसले देश व्यापी रुपमा आन्दोलन चर्काउने निर्णय गरेको कांग्रेस जिल्ला सभापति बोहराको भनाई छ । कम्युनिष्ट सरकारको समयावधीमा भष्ट्राचार, अन्याय, अत्याचार र जनतामाथिको दमन बढिरहेकोले जनता सडकमा उत्रिन लागेको कांग्रेसको दाबी छ । सरकारलाई सजक गराउनका लागि यो आन्दोलन आवश्यक रहेको जनाइएको छ ।

नेपाली कांग्रेसले आम जनतामा कोभिड–१९ को ‘भ्याक्सीन’ पु¥याउन समेत यहि आन्दोलनको कार्यक्रम मार्फत दबाब दिने बताएको छ । सोमवार हुने उक्त आन्दोलन कार्यक्रममा कञ्चनपुरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पुर्व अध्यक्ष, प्रखर वक्ता प्रदिप पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सभापति बोहराले बताए । सोमवारको आन्दोलन कार्यक्रम मध्यान्न साढे १२ बजे पार्टी कार्यालयबाट महेन्द्रनगर बजार परिक्रमा गरी बिरोध सभामा परिणत हुने जनाइएको छ । महेन्द्रनगर बजार परिक्रमा पश्चात महेन्द्र स्मारकमा केन्द्रीय सदस्य पौडेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

ताजा समाचार