महाकाली प्रादेशिक अस्पतालको वर्तमान अवस्था सार्वजनिक, दरबन्दी अभाव र सेवा विस्तारमा चुनौती!


महेन्द्रनगर: कञ्चनपुर जिल्लामा रहेको महाकाली प्रादेशिक अस्पतालको वर्तमान अवस्था सार्वजनिकका साथै दरबन्दी अभाव र सेवा विस्तारमा चुनौती रहेका छन्। महाकाली प्रादेशिक अस्पतालले आर्थिक वर्ष २०८२/०८३ को वर्तमान अवस्था सम्बन्धी जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले अस्पतालको विकासक्रम तथा वर्तमान अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले अञ्चल अस्पताल रहँदा दरबन्दी बढेको भए पनि प्रादेशिक अस्पतालमा रूपान्तरण भएसँगै दरबन्दी घटेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। हाल अस्पतालमा करिब २५० जना कर्मचारी कार्यरत रहेका छन्।

१०० शय्याबाट सञ्चालनमा आएको अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो। तर, बिरामीको बढ्दो चापका बाबजुद आवश्यक जनशक्ति अभाव, नयाँ भवनमा अझै हस्तान्तरण हुन नसक्नु, टिचिङ अस्पतालसँग आवद्धता कायम गर्न नसक्नु तथा सीमित डायलाइसिस मेसिनका कारण सेवा व्यवस्थापनमा चुनौती देखिएको जानकारी दिनुभयो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद पन्तले अस्पताल सुधारका लागि नकारात्मक टिप्पणीभन्दा रचनात्मक सुझाव आवश्यक रहेको बताउदै, उहाँले आगामी दिनमा अस्पताललाई नमूना तथा सेवामुखी बनाउने लक्ष्यसहित सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो।

अस्पताल प्रमुख डा. जोशीले नयाँ भवन हस्तान्तरणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भइरहेको बताउँदै सेवा प्रभावकारी बनाउन सबै तहबाट पहल आवश्यक रहेको जोड दिनुभयो।
कार्यक्रममा अस्पताल प्रमुख डा. जगदीश जोशी, नवनियुक्त अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद पन्त, सदस्यहरू प्रशान्त भट्ट र इन्द्र सिंह साउँद, नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेश सिंह धामी लगायत सञ्चारकर्मीहरूको उपस्थितिका साथ कार्यक्रम सञ्चालन अस्पताल व्यवस्थापक किशन सिंह बिष्टले गर्नुभएको थियो।


ताजा समाचार

spot_img