महेन्द्रनगर: कञ्चनपुरमा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न भएको छ।

भीमदत्त नगरपालिकाको सभाहलमा जिल्ला आर्थिक गणना कार्यालय कञ्चनपुरको आयोजनामा “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नाराका साथ गोष्ठी सम्पन्न गरिएको हो।

गोष्ठीमा जिल्ला आर्थिक गणना अधिकारी दान बहादुर ऐडीले प्रस्तुति दिनुभएको थियो। उहाँले तथ्यांकलाई एकीकृत र यथार्थपरक बनाउन प्रादेशिक तहसम्म निरन्तर रूपमा काम अगाडि बढाइने जानकारी दिनुभयो।

नेपालमा पहिलो पटक आर्थिक गणना २०७५ सालमा सञ्चालन गरिएको थियो भने दोस्रो पटकको गणना २०८२ साल असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रत्येक पाँच वर्षमा हुने राष्ट्रिय आर्थिक गणना यस पटक देशैभर दोस्रो चरणका रूपमा सञ्चालन हुन लागेको हो।
आर्थिक गणनाका लागि १८ वटा क्षेत्रमा गणना गर्ने तयारी गरिएको छ। गणनामा कागजी प्रश्नावली र ई–सेन्सस प्रणाली दुवैको प्रयोग गरिनेछ। यसका लागि दुई प्रकारका फाराम सूचीकरण फाराम (महल) र १५ खण्ड समेटिएको मुख्य प्रश्नावली प्रयोग गरिनेछ।
कार्यक्रम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको अध्यक्षता तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। गोष्ठीमा कञ्चनपुर उद्योग वाणिज्य संघ, यातायात व्यवसायी समिति, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।







