कञ्चनपुर — एपेक्स गोदावरी होटल म्यानेजमेन्ट कलेजले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ।

भीमदत्त नगरपालिका–१८, जानकीटोलमा अवस्थित कलेजले भीमदत्त नगरपालिका–३, भासीस्थित श्री प्यालेसमा उक्त कार्यक्रम आयोजना गरेको हो। लामो समयदेखि होटल म्यानेजमेन्टसम्बन्धी शिक्षा प्रदान गर्दै आएको कलेजका विद्यार्थीहरू हाल देश तथा विदेशका विभिन्न स्टार होटलहरूमा कार्यरत रही राम्रो आम्दानी गरिरहेका छन् भने कतिपयले आफ्नै होटल सञ्चालन गरिरहेको कलेजका प्रधानाध्यापक विनोद प्रकाश भट्टले बताए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रधानाध्यापक भट्टले यस्ता प्रकारका प्राविधिक शिक्षाले रोजगारी सिर्जना गर्ने भएकाले अहिले विद्यार्थीहरूमा होटल म्यानेजमेन्टलगायत प्राविधिक विषयप्रति आकर्षण बढिरहेको बताए। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

कलेजका प्रधानाध्यापक विनोद प्रकाश भट्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत रामदत्त भट्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा स्वागत मन्तव्य कलेजका अंग्रेजी शिक्षक सुरज जोशीले व्यक्त गरेका थिए भने अभिभावक तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






