झलारी : शुक्लाफाँटा नगरपालिका११ अमरपुरस्थित दशरथ आधारभूत विद्यालयले सरस्वती पूजाको पावन अवसरमा विद्यालयको विकासमा योगदान पुर्याउने दाता, पूर्व पदाधिकारी र समाजसेवीहरूलाई विशेष सम्मान गरेको छ। शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा विद्यालयलाई आर्थिक, शैक्षिक र भौतिक क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। विद्यालयको चौतर्फी विकासका लागि रु दुई लाख आर्थिक सहयोग गर्ने श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमर बहादुर ऐरलाई विशिष्ट अतिथिका रूपमा सम्मान गरियो।

त्यसैगरी, रु ६ हजार ७ सय नगद सहयोग गर्ने समाजसेवी दिल बहादुर साउद र सरस्वती पूजाको अवसरमा बालबालिकाहरूका लागि २० किलो मिठाई सहयोग गर्ने स्मार्ट आइटी ट्रेनिङ इन्स्टिच्युट झलारीका सञ्चालक पवन कुमार ऐरलाई पनि सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि निवर्तमान वडा अध्यक्ष तथा विद्यालयका संस्थापक अध्यक्ष दिल बहादुर बुढा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विक र प्रधानाध्यापक धर्मा ऐर भण्डारीले सहयोगीहरूलाई सम्मान गर्नुभएको थियो। सम्मानित हुने अन्य व्यक्तित्वहरू सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नन्द सिंह सुनार र देउडा प्रतिष्ठान कञ्चनपुरका अध्यक्ष समाजसेवी गोदावरी ठगुन्ना मार्कण्डेय, विद्यालयका पूर्व शिक्षक र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो।

ठगुन्नाले कार्यक्रममा बालबालिकाहरूका लागि १० पाकेट डटपेन समेत सहयोग गर्नुभएको थियो। कार्यक्रममा श्रीकृष्ण आधारभूत विद्यालय रामनगरका प्रधानाध्यापक गोबर्धन घिमिरे, दीपनगर आधारभूत विद्यालयका पिटिए अध्यक्ष दाने सुनार, शिक्षकद्वय इन्द्र बहादुर विष्ट र तेज बहादुर कुँवरको उपस्थिति रहेको थियो। त्यसैगरी विद्यालयका पिटिए अध्यक्ष गणेश चुनारा, महिला समाजसेवी अनिता ऐर, समाजसेवी नमसरा सुनार लगायतको बाक्लो उपस्थिति थियो। सरस्वती पूजाको अवसरमा विद्यालयका बालबालिकाहरूले आकर्षक नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउने सबै सहयोगी मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिएको थियो।







