हेमा भट्ट/कञ्चनपुर -पूर्व–पश्चिम राजमार्गमा दिनानुदिन भइरहेका सडक दुर्घटनाले फेरि एक होनहार युवा गुमाउनु परेको छ। शुक्लाफाँटा नगरपालिका–१०, झलारी निवासी ललित जोशीको मिति २०८२ असार २६ गते साँझ दैजी नजिकै भएको सवारी दुर्घटनामा असामयिक निधन भएको हो।

स्थानीयहरूका अनुसार जोशीलाई सवारीले ठक्कर दिँदा गम्भीर चोट लागेको थियो र उपचारको क्रममा उनको निधन भयो। परिवारका लागि अत्यन्तै पीडादायक यो क्षणसँगै समाजले पनि एक उज्वल भविष्य बोकेको युवाशक्तिलाई गुमाएको छ।

सवारी साधनको अत्यधिक चाप, तर अपर्याप्त र साँघुरा सडकहरू—यो विरोधाभास अहिले पूर्व–पश्चिम राजमार्गमा ज्यान गुमाउने मुख्य कारण बनेको छ। अत्तरिया, धनगढीजस्ता क्षेत्रहरूमा ६ लेन सडक बनिसकेको छ, सहर बजारका सडक चौडा र गुणस्तरीय छन्, तर विपरीत रूपमा हाईवे भने अझै पनि साखा सडकभन्दा पनि साधुरो देखिन्छ।

वर्षेनी सयौंको ज्यान जाने यो सडक अहिले ‘मृत्युमार्ग’ मा परिणत भइरहेको स्थानीयवासीहरूको गुनासो छ। पूर्व–पश्चिम राजमार्गकै कारण हजारौं नेपालीहरूले दैनिक यात्रा गर्छन्। तर, सुविधाको न्यूनता र समयमै सुधार नहुनु दुर्घटनाको मुख्य कारक बनिरहेको छ। यस्तो अवस्था दोहोरिरहँदा यसको जिम्मेवारी कसले लिने? राज्यले पूर्व–पश्चिम राजमार्गको समयमै स्तरोन्नति नगरे धेरै निर्दोष नागरिकले ज्यान गुमाउनु पर्नेछ।
दिवंगत ललित जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं। समाजको एउटा स्तम्भ गुमाउनु परेको पीडा सिङ्गो समुदायले महसुस गरिरहेको छ।
