धनगढीमा मंसिर ८ र ९ गते ‘आरोही उद्यमी मेला’ अायाेजना हुने , महिला उद्यमीका ३० स्टल रहने


कञ्चनपुर : महिला उद्यमशीलताको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा महिला उद्यमीलाई नयाँ बजारसँग जोड्ने उद्देश्यले धनगढीमा ‘आरोही उद्यमी मेला–२०८३’ आयोजना हुने भएको छ। एफसीए नेपालसहित विभिन्न संघसंस्था तथा साझेदार संस्थाहरूको सहकार्यमा आगामी मंसिर ८ र ९ गते धनगढीस्थित होटल रुबसमा मेला आयोजना हुन लागेको हो। मेलामा सुदूरपश्चिम प्रदेशका महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्न वस्तु तथा सामग्रीको प्रदर्शनी तथा बिक्री गरिने बताइएकाे छ । निड्स नेपालका परियोजना संयोजक हेमन्त शाहीले मेलाले महिला उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रदर्शनी तथा बजारीकरण गर्ने अवसर प्रदान गर्नुका साथै व्यावसायिक क्षमता अभिवृद्धि र बजार पहुँच विस्तारमा सहयोग पुग्ने बताए।

उनले महिला उद्यमीबीच अनुभव आदानप्रदान, सहकार्य र व्यावसायिक सम्बन्ध विकास गर्नसमेत मेला महत्वपूर्ण हुने बताए। मेलामा महिला उद्यमीहरूका करिब ३० वटा स्टल रहनेछन्। स्टलमा मह, झोला, हस्तकलाका सामग्री, स्थानीय तथा परम्परागत उत्पादन र खाद्य सामग्रीलगायत वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्। मेलामा उत्पादन प्रदर्शनी तथा बिक्रीका अतिरिक्त नेल आर्ट, फेस पेन्टिङ, रमाइलो सांस्कृतिक कार्यक्रम र स्थानीय परिकारका स्टलसमेत रहने आयोजकले जनाएको छ। यसैगरी, मंसिर ९ गते मेलासँगै एफसीए नेपालद्वारा सञ्चालित ‘आरोही : मेन्टरसिप, सीप विकास र सहकार्यमा आधारित महिला उद्यमशीलताको प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम समूहको छमहिने मेन्टरसिप कार्यक्रमको औपचारिक समापन समारोहसमेत आयोजना गरिनेछ।

उक्त कार्यक्रममार्फत महिला उद्यमीहरूलाई अनुभवी मेन्टरसँग आबद्ध गरी व्यक्तिगत मार्गदर्शन, सीप विकास, ज्ञान आदानप्रदान तथा व्यावसायिक विकासका अवसर प्रदान गरिएको थियो। समापन समारोहमा सहभागी महिला उद्यमीहरूले छमहिने यात्राका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्नुका साथै आगामी व्यावसायिक सम्भावनाबारे छलफल गर्नेछन्। कार्यक्रम फिनल्याण्डको परराष्ट्र मन्त्रालय र वुमेन्स बैंकको सहयोगमा सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img