हेमा भट्ट/धनगढी- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा अभिकर्ताहरूको क्षमता, आत्मविश्वास, व्यावसायिक दक्षता तथा कार्यसम्पादन अभिवृद्धि गर्ने उद्देश्यले आयोजित अभिकर्ता पुनर्ताजगी तथा दक्षता अभिवृद्धि कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका-३ स्थित पौवा होटलमा आयोजित कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका नेशनल सेल्स हेड उमापति पोखरेलले अभिकर्ताहरूलाई प्रभावकारी, व्यावहारिक तथा प्रेरणादायी प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सको तालिम विभागका शाखा प्रमुख दिपेश ढुंगाना अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। प्रशिक्षणका क्रममा पोखरेलले जीवन बीमाको महत्त्व, आवश्यकता, अभिकर्ताको जिम्मेवारी, व्यावसायिक अनुशासन, नियमितता, जोखिम व्यवस्थापन, ग्राहकसँगको व्यवहार तथा बीमा शुल्क समयमै भुक्तानी गर्नुपर्ने विषयमा उदाहरणसहित प्रशिक्षण दिनुभएको थियो।

उहाँले अभिकर्ताले आफूले प्रतिनिधित्व गर्ने कम्पनीका बीमा योजना, सेवा, सुविधा, विशेषता तथा वित्तीय अवस्थाबारे पर्याप्त जानकारी राख्नुपर्ने बताउँदै ग्राहकको आवश्यकता पहिचान गरी सही परामर्श दिन सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो। ग्राहकका जिज्ञासालाई तथ्यपूर्ण रूपमा सम्बोधन गर्ने, बीमाका फाइदा र सीमितता स्पष्ट बुझाउने तथा विश्वासिलो सेवा प्रदान गर्ने जिम्मेवारी अभिकर्ताको महत्वपूर्ण भूमिका भएको उहाँको भनाइ थियो। ज्ञान, सीप र तयारीबिनाको कामले अपेक्षित परिणाम दिन नसक्ने उल्लेख गर्दै पोखरेलले निरन्तर अध्ययन, अभ्यास, मेहनत, अनुशासन र आत्मविश्वासका साथ कार्यक्षेत्रमा अघि बढ्न अभिकर्ताहरूलाई प्रेरित गर्नुभयो। प्रशिक्षणमा सहभागी अभिकर्ताहरूले यसलाई व्यावहारिक, ज्ञानवर्धक र कामप्रति थप उत्साह जगाउने कार्यक्रमका रूपमा लिएका थिए। कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा नेपाल लाइफका नेपालकै टप नम्बर १ अभिकर्ता मदन भट्टले प्रशिक्षक तथा अतिथि उमापति पोखरेललाई सम्मानसहित मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो।

उक्त सम्मानले प्रशिक्षकप्रतिको आदर, संस्थागत एकता तथा ज्ञान र अनुभवको कदर गर्ने सकारात्मक सन्देश दिएको थियो। कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष २ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको तथा कम्पनीको अभिकर्ता सञ्जाल करिब ६९ हजार रहेको जानकारीसमेत गराइएको थियो। कम्पनीको वित्तीय अवस्था, सेवा विस्तार, संस्थागत उपलब्धि तथा विश्वसनीयताबारे जानकारी दिँदै जीवन बीमा केवल आर्थिक कारोबार नभई व्यक्ति, परिवार र भविष्यको आर्थिक सुरक्षासँग जोडिएको महत्वपूर्ण आधार भएको बताइएको थियो। प्रशिक्षणमा ‘७ नम्बर प्रदेशलाई अब १ नम्बर बनाउने’ लक्ष्यलाई आत्मसात् गर्दै सुदूरपश्चिम प्रदेशलाई बीमा व्यवसाय, सेवा प्रवाह, अभिकर्ताको दक्षता, ग्राहकको विश्वास र कार्यसम्पादनमा अग्रणी बनाउने संकल्पका साथ अघि बढ्न प्रेरित गरिएको थियो। ठूलो लक्ष्य राख्नुका साथै त्यसलाई हासिल गर्न आवश्यक ज्ञान, सीप, इमानदार प्रयास, निरन्तरता र योजनाबद्ध कार्यशैली अपनाउनुपर्ने सन्देशसमेत प्रवाह गरिएको थियो।

सहभागी अभिकर्ताहरूले प्रशिक्षणबाट नयाँ ज्ञान, अनुभव, काम गर्ने शैली र थप ऊर्जा प्राप्त भएको बताउँदै आगामी दिनमा अझ जिम्मेवार, प्रभावकारी तथा परिणाममुखी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम संयुक्त शाखाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम सञ्चालन धनगढी शाखा प्रमुख भक्तबहादुर चन्दले गर्नुभएको थियो। कार्यक्रमबारे जानकारी दिँदै चन्दले अभिकर्ताहरूको क्षमता अभिवृद्धि, बीमा सचेतना विस्तार, ग्राहकलाई गुणस्तरीय सेवा तथा आम नागरिकमा आर्थिक सुरक्षाको पहुँच विस्तार गर्न यस्ता प्रशिक्षण कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। समग्रमा कार्यक्रमले अभिकर्ताहरूलाई व्यावसायिक रूपमा थप सक्षम बनाउनुका साथै बीमाप्रतिको जनविश्वास अभिवृद्धि, जिम्मेवार सेवा प्रवाह र सुदूरपश्चिमको बीमा क्षेत्रलाई थप उचाइमा पुर्याउने सकारात्मक सन्देश दिएको छ। ज्ञानसहितको कामले सफलता दिलाउँछ, सीपसहितको सेवाले विश्वास जित्छ र एकतासहितको प्रयासले सुदूरपश्चिमलाई नयाँ उचाइमा पुर्याउँछ भन्ने प्रेरणादायी सन्देशका साथ कार्यक्रम सम्पन्न भएको छ।










