कञ्चनपुर: नेपालका प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आईतबार दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य छन्। यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका तीन प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य सहभागी छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। साथै, भारतीय समकक्षी मोदीसँग भोलि सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ।

भ्रमणका अवसरमा दुई देशबिच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, दुवै देशका नेतृत्वहरूबिच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपत् व्यवस्थापन र मानव संसाधन विकासजस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू)समेत आदानप्रदान गरिनेछन्। भ्रमणको पहिलो दिन प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी भोलि सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन्। यसैविच सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणले नेपाल–भारतबिचको आपसी विश्वास, सहकार्य र साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रधानमन्त्री शाह आज दुईदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । भ्रमणको सफलताको कामना गर्दै रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा भ्रमणले दुई देशबिचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ, ‘यस भ्रमणले दुई देशबिच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।’भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको पनि रास्वपाले जनाएको छ । रास्वपाका अनुसार प्रधानमन्त्री शाहले भ्रमणका विषयमा पार्टी सभापति रवि लामिछानेलाई विस्तृत जानकारी गराउनुका साथै छलफलसमेत गरेका थिए ।सो अवसरमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।











