कञ्चनपुर : जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् जोखिम व्यवस्थापन तथा प्रकृतिमा आधारित समाधानका उपायबारे समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटामा युवाहरूका लागि आयोजित तालिम अाज सम्पन्न भएको छ। सुरक्षित आवास कार्यक्रमअन्तर्गत सेफर परियोजनाद्वारा सञ्चालित ‘जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण तथा प्रकृतिमा आधारित समाधानसम्बन्धी समुदायका युवाहरूका लागि सञ्चालन गरिएकाे दुई दिने तालिम’ सम्पन्न भएको हो। कात्तिक ५ गतेदेखि ६ गतेसम्म शुक्लाफाँटा नगरपालिका–११ स्थित महाकाली होटलमा सञ्चालन भएको तालिममा नगरपालिकाका विभिन्न वडाका युवाहरूको सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले जलवायु परिवर्तन र विपद्का घटना समुदायका लागि चुनौतीका रूपमा देखिँदै गएको उल्लेख गर्दै यस्ता जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरबाटै सचेतना र तयारी आवश्यक रहेको बताउनुभयो।

उहाँले विपद् व्यवस्थापनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायमा समेत सचेतना फैलाउन आग्रह गर्नुभयो। नगरपालिकाका विपद् फोकल पर्सन कृष्णप्रसाद भट्टले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, जोखिमको पहिचान र समुदायको सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले बाढी, वन्यजन्तुको आक्रमण तथा जलवायु परिवर्तनका कारण उत्पन्न हुने विभिन्न समस्याबाट हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न स्थानीय समुदायलाई सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी सेफर परियोजनाका संयोजक सरस्वती पुरीले परियोजनामार्फत समुदायलाई जलवायु उत्थानशील बनाउने, विपद्को जोखिम पहिचान गर्ने र प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले समुदायका युवाहरूलाई विपद् व्यवस्थापन र वातावरण संरक्षणका विषयमा सक्षम बनाउँदै स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउन परियोजनाले सहयोग गरिरहेको जानकारी दिनुभयो।

तालिमका सहभागी लिला कुमारी चौधरी र कविराज भट्टले तालिमबाट जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा वन्यजन्तुबाट हुने क्षति रोकथामका विषयमा महत्त्वपूर्ण ज्ञान प्राप्त भएको बताउनुभयो। उहाँहरूले तालिममा सिकेका कुराहरूलाई आफ्नो समुदायमा व्यवहारमा लागू गर्दै अन्य व्यक्तिलाई समेत सचेत गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। तालिममा शुक्लाफाँटा नगरपालिकाका वडा नं. १, १० र १२ का गरी २५ जना युवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई वन्यजन्तुबाट बालीनालीमा हुने क्षति न्यूनीकरण गर्ने उपाय, वन्यजन्तु तथा मानवबीचको द्वन्द्व कम गर्ने तरिका, मानवीय क्षति रोकथाम, बाढीजन्य प्रकोपबाट सुरक्षित रहने उपाय तथा जलवायु परिवर्तनका असर न्यूनीकरणसम्बन्धी विषयमा जानकारी दिइएको थियो।

विशेषगरी वन्यजन्तुको बासस्थान र मानव बस्तीबीच बढ्दो अन्तरसम्बन्धका कारण उत्पन्न हुने समस्या न्यूनीकरण, जोखिमयुक्त क्षेत्रको पहिचान, विपद्का समयमा अपनाउनुपर्ने सावधानी र स्थानीय स्रोतसाधनको उपयोग गर्दै प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बन गर्ने विषयमा सहजीकरण गरिएको थियो। जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा देखिने अनियमितता, बाढी तथा अन्य प्राकृतिक प्रकोपको जोखिम बढ्दै गइरहेको अवस्थामा समुदायका युवालाई सचेत, जिम्मेवार र विपद् सामना गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ। एफसिए नेपाल, ह्याबिट्याट फर ह्युम्यानिटी अस्ट्रेलिया, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको सहकार्यमा सुरक्षित आवास कार्यक्रमअन्तर्गत सेफर परियोजना सञ्चालन हुँदै आएको छ।










