महेन्द्रनगर: कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१, कालिका टोल निवासी ३६ वर्षीय पदमबहादुर महतले वैदेशिक रोजगारीका क्रममा साउदी अरबको दम्माममा नेपाली हेयर कटिङ सैलुन स्थापना गरी नयाँ व्यावसायिक यात्रा सुरु गरेका छन्। दम्मामस्थित सिकोको नेपाली गार्डेन नजिकै नेपालीपन र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित उनले नयाँ व्यवसाय सञ्चालनमा ल्याएका हुन्।

वि.सं. २०५९ सालमा रोजगारीको खोजीमा भारतको नयाँदिल्ली पुगेका महतको जीवन संघर्ष र मेहनतले भरिएको छ। परिवारको जेठो छोराका रूपमा जन्मिएका उनले सानै उमेरदेखि विभिन्न दुःख, कष्ट र अभावसँग सामना गर्नुपर्यो। आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनलाई निरन्तरता दिन नसकेपछि परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले उनी रोजगारीको खोजीमा भारत पुगेका थिए।

भारत पुगेपछि उनले जम्मु–कश्मीर हुँदै हिमाली क्षेत्र सिमलाका पहाडसम्म पुगेर स्याउ टिप्ने कामसमेत गरे। जीवन निर्वाह र परिवारको आर्थिक अवस्थालाई सहज बनाउने प्रयासमा उनले अनेकौँ कठिनाइसँग जुध्दै आफ्नो कर्मलाई निरन्तरता दिए। त्यसपछि नेपाल फर्किएर यातायात व्यवसायमा सहचालक हुँदै चालकका रूपमा समेत काम गरे।

उनको जीवनमा पारिवारिक पीडासँगै विस्थापनको अर्को ठूलो चोट पनि जोडिएको छ। वि.सं. २०५८ सालमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा साविक बेलडाँडी गाविस–९ बाट उनको परिवार विस्थापित हुन पुगेको थियो। विस्थापन भएको २५ वर्ष बितिसक्दा पनि राज्यबाट समस्याको दीर्घकालीन समाधान हुन नसकेको उनको भनाइ छ। तत्कालीन समयमा शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला वार्डन सूर्यबहादुर थापाको कार्यकालमा आफ्नो परिवार विस्थापित हुनुपरेको उनले स्मरण गरे।
लालबहादुर महतका जेठा छोरा पदमबहादुरले बाल्यकालदेखि नै पारिवारिक जिम्मेवारी सम्हाल्दै आएका छन्। पाँच सन्तानमध्ये जेठा रहेका उनका एक-एक छोरी/छोरा श्रीमती, तीन बहिनी, एक भाइ र बुवाआमा अकालमा नै गुमाएका उनी संग अहिले हजुर आमा (बजै) भने रहेकी छन्।
जीवनको अर्को दुःखद पक्षका रूपमा उनले आमालाई वि.सं. २०६७ सालमै गुमाउनुपर्यो भने बुवा लालबहादुर महतको वि.सं. २०७६ माघ १५ गते निधन भयो। बाल्यकालमै अभिभावक गुमाउँदाको पीडा र पारिवारिक जिम्मेवारीका बीच पनि उनले आफ्नो संघर्षलाई रोकेनन्।
रोजगारीकै सिलसिलामा सन् २०१२ मा साउदी अरब पुगेका महत विगत १४ वर्षदेखि दम्मामलाई आफ्नो कर्मभूमि बनाएर कार्यरत छन्। लामो समयसम्म वैदेशिक रोजगारीमा रहेर अनुभव र मेहनतबाट प्राप्त उपलब्धिलाई अब आफ्नै व्यवसायमा रूपान्तरण गर्ने उद्देश्यले उनले रोयल कट नेपाली हेयर कटिङ सैलुन स्थापना गरेका हुन्। उनले २०२६ नोभेम्बर २१ तारिक बिहान १० बजे औपचारिक कार्यक्रमका साथ उद्धाटन समेत गर्नुभएको थियो।
विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति, पहिचान र मौलिकतालाई जोगाउँदै नेपालीपनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आफ्नो चाहना रहेको महतले बताए। विदेशमा केवल रोजगारीमा सीमित नभई उद्यमशीलताको बाटो रोजेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि आफूले व्यवसाय सुरु गरेको उनको भनाइ छ।
अभाव, विस्थापन, पारिवारिक वियोग र लामो वैदेशिक संघर्ष पार गर्दै आफ्नै व्यवसाय सञ्चालन गर्न सफल भएका पदमबहादुर महतको यात्रा मेहनत, धैर्य र आत्मविश्वासको उदाहरण बनेको छ। विदेशमा रहेर पनि आफ्नो पहिचान, स्वाभिमान र उद्यमशीलतालाई प्राथमिकता दिँदै अघि बढेका उनको यो नयाँ प्रयासले अन्य नेपाली युवालाई समेत स्वदेश तथा विदेशमा उद्यम गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।











