झलारी : हातेमालो समाज नेपाल काठमाण्डौंले शुक्लाफाँटा नगरपालिका ११ वनहरा शिविरका २८ भूमिहीन परिवारलाई त्रिपाल वितरण गरेको छ । वडा अध्यक्ष शेर बहादुर साउदको उपस्थीतिमा भूमिहीन परिवारलाई त्रिपाल वितरण गरिएको हो । त्रिपाल वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेत, राष्ट्रिय भूमि अधिकार मञ्चका प्रदेश सचिव राम बहादुर चुनारा, वडा सचिव नारायणदत्त जोशी लगायतको उपस्थीति रहेको थियो ।

वडा अध्यक्ष साउदले छाना चुहिएर बस्नै नसकिने अबस्था भएको जानकारी पाएपछि संस्था संग समन्वय गरी त्रिपाल वितरण गरिएको बताउनु भयो । वर्षातका बेला जोखिम मोलेर बस्नु भएको छ उहाले भन्नुभयो, छानामा त्रिपाल राखेर सहज रुपमा वर्षातका बेला बस्न सकिने भएको छ, सुरक्षित रुपमा बस्नु होला, आगामी दिनमा पनि सहयोग गर्दै जाने छौं, संस्थाले सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छौं । सुरक्षित बसोवासका लागि भूमि समस्या समाधान आयोग संग समन्वय गरी जग्गा र आवास उपलब्ध गराउनका लागि पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

विसं २०६२ साल देखि वनहरा नदी छेउको जग्गामा झोपडी बनाएर भूमिहीन परिवार बस्दै आएका छन । गत साता राष्ट्रिय समाचार समिति(रासस) मा भूमिहीन परिवारले चुहिने छाना भएको झोपडीमा अनिदोनै रात काटनु परेको समाचार प्रकासित भएको थियो । समाचार प्रकासित भएपछि तत्कालै वडा अध्यक्ष प्रहरी लगायतको टोली पुगेर भूमिहीन परिवारको अबस्था बारे जानकारी लिएका थिए । त्यस पछि सहयोगी संस्थाको खोजी गरी त्रिपाल वितरणको कार्य गरिएको छ ।







