कैलाश चन्द्र गिरी : राजनीति कुनै पनि राष्ट्रको दिशा निर्धारण गर्ने महत्वपूर्ण माध्यम हो। समाजको विकास, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न सशक्त राजनीतिक प्रणाली आवश्यक पर्छ। यस प्रणालीलाई गतिशील र उत्तरदायी बनाउने काममा युवाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ।

आजको युवा पुस्ता शिक्षित, प्रगतिशील, प्रविधिमा दक्ष र नवीन सोचले भरिपूर्ण छन्। उनीहरूसँग ऊर्जा, साहस र परिवर्तनको आकांक्षा हुन्छ, जुन राजनीति जस्तो परिवर्तनशील क्षेत्रमा अत्यन्त उपयोगी गुण हुन्। लोकतन्त्रमा युवाहरूले मात्र मतदाता भएर होइन, नेतृत्वकर्ता, नीतिनिर्माता र सचेत नागरिकको रूपमा पनि भूमिका खेल्न सक्छन्।

नेपाल जस्तो विकासशील राष्ट्रमा युवा जनसंख्या सबैभन्दा बढी छ। तर, राजनीतिक क्षेत्रमा उनीहरूको सहभागिता अपेक्षित जति देखिँदैन। पारंपरिक सोच, पार्टीभित्रको आन्तरिक गुटबन्दी, अनुभवको अभाव जस्ता कारणले गर्दा युवा राजनीतिमा अग्रसर हुन हिच्किचाउँछन्। यस्ता बाधाहरूलाई चिर्दै युवाहरूले आफैंमा राजनीतिक चेतना जागृत गराउनुपर्ने आवश्यकता छ।

युवाहरूले जनताका वास्तविक समस्यालाई उठाउने, भ्रष्टाचार, असमानता र अन्यायको विरुद्ध बोल्ने र नयाँ सोचका साथ वैकल्पिक नेतृत्व प्रस्तुत गर्ने सामथ्र्य राख्छन्। शिक्षालयहरूमा राजनीतिक बहस, युवा संसद, समाज सेवाका कार्यक्रमहरू, सामाजिक सञ्जालको प्रयोग आदिले युवाहरूलाई सक्रिय राजनीतिक भूमिकामा लैजान सक्छ।
युवावर्गले राजनीति प्रति उदासीन नभई सक्रिय भाग लिने हो भने मात्रै स्वच्छ, पारदर्शी र जनमुखी राजनीतिको स्थापना सम्भव छ। परिवर्तनका लागि केवल आलोचना होइन, सहभागीता आवश्यक छ र यो सहभागीता युवाबाटै सुरु हुनुपर्छ।
युवाहरू राजनीतिक पार्टीका झोले किन बन्दैछन् ?
आजको नेपालमा युवाहरूको ऊर्जा, जोश र सम्भावनाले भरिएको पुस्ता, राजनीतिक दलहरूको झोला बोकेर हिँडिरहेको दृश्य सामान्य बनिसकेको छ। राजनीतिक चेतनाको नाममा बढ्दो युवाको सहभागिता स्वागतयोग्य भए पनि जब यो अन्धसमर्थन, स्वार्थ, वा अवसरवादमा सीमित हुन्छ, तब यसले गम्भीर प्रश्न खडा गर्छ। के हाम्रा युवाहरू साँच्चै परिवर्तनका संवाहक हुन् कि केवल कुनै पार्टीको शक्ति विस्तारका औजार हुन् रु केही चर्चा गरौं स्
रोजगारी र अवसरको अभाव
नेपालमा बेरोजगारी दर उच्च छ। शिक्षित युवाहरू पनि उचित रोजगारीको अभावमा अलमलिएका छन्। राजनीतिक पार्टीसँग आबद्ध हुँदा अवसरको ढोका खुल्ने आशा धेरै युवाहरूलाई झोलावाहक बन्न प्रेरित गर्छ। कतिपयलाई सिफारिसमा जागिर, ठेक्का, छात्रवृत्ति, वा विदेश जान सहयोग प्राप्त भएको अनुभवले अरूलाई पनि आकर्षित गर्छ।
प्रभाव र पहिचानको चाहना
राजनीतिक दलसँग नजिक भएर युवा समाजमा ‘ठूलो मान्छे’ जस्तो देखिन चाहन्छन्। नेतासँगको फोटो, कार्यक्रममा मञ्चको नजिकको स्थान, वा कुनै कार्यक्रममा गाडी–झाँकीको भाग हुन पाउनु सामाजिक पहिचानको माध्यम बन्छ।
शिक्षा प्रणालीको कमजोरी
हाम्रो शिक्षा प्रणालीले राजनीतिक चेतना, विचारधाराको विश्लेषणात्मक क्षमता वा लोकतान्त्रिक मूल्यहरूको प्रशिक्षण पर्याप्त रूपमा दिएको छैन। फलस्वरूप, धेरै युवाहरू विचारधारामा नभई व्यक्तिमा आधारित समर्थन गर्छन्। दल विशेषको गहिरो मूल्यांकन बिना नै उनीहरू झोला बोक्न तयार हुन्छन्।
सामाजिक दबाब र प्रभाव
परिवार, मित्र वा समुदायमा कुनै दलप्रति झुकाव हुँदा युवा त्यसैको प्रभावमा पर्ने गर्छन्। कहिलेकाहीँ युवाहरू आफ्ना अभिभावककै पार्टीमा स्वतः सामेल हुन्छन् र त्यही लयमा अगाडि बढ्छन्।
परिवर्तनको माध्यम बन्ने चाहना
सबै युवाहरू नकारात्मक सोचले मात्र लागेका हुँदैनन्। केही युवाहरू वास्तविक रूपमै देशको अवस्थाबाट असन्तुष्ट छन् र राजनीतिको माध्यमबाट परिवर्तन ल्याउन चाहन्छन्। तर यथार्थमा पुग्दा उनीहरू पार्टी संरचनामा गाभिन्छन्, जहाँ विचारभन्दा वरिष्ठ नेताको सेवा गर्नुपर्ने प्रवृत्ति हाबी हुन्छ।
राजनीति युवाहरूको लागि दुर्गन्धित शब्द होइनस उनीहरूकै सक्रिय सहभागिताले देशमा परिवर्तन सम्भव छ। तर अन्धानुयायिता, लोभ, वा भावनामा बहकिएर गरिएको सहभागिता समस्याको जरो बन्छ। राजनीति गर्ने होइन, विचारसहितको राजनीति गर्ने संस्कृति स्थापना गर्नु आजको युवाको प्रमुख जिम्मेवारी हो। (लेखक अखिल क्रान्तिकारी कञ्चनपुरका पुर्व अध्यक्ष हुन )






