कञ्चनपुर- “सडक अनुशासन पालना गरौं, अमूल्य जीवनको रक्षा गरौं” भन्ने मूल नारासहित मनाइँदै आएको विश्व सडक सुरक्षा सप्ताह २०८३ को तेस्रो दिन विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम अन्तर्गत सवारी चालक, विद्यार्थी तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा, हेल्मेट तथा सिटबेल्ट प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउन लगायतका विषयमा तेस्रो दिन महेन्द्रनगरमा सचेतना प्रदान गरिएको थियो।

सचेतना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। उहाँले सानो लापरवाहीले समेत ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले अनुशासित यात्राले मात्र अमूल्य जीवन जोगाउन सकिने बताउनुभयो। विश्व सडक सुरक्षा सप्ताह अन्तर्गत आगामी दिनहरूमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ।








