लुहार परिवारको अढाई दशक देखि झोपडीमै बास


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका ६ कसरौलको स्याली नदीको तटीय क्षेत्रमा ६२ वर्षीय हरजित लुहारले झोपडी बनाएर बस्दै आएको अढाई दशक पुगेको छ ।
मुक्त हलिया पुनः स्थापन कार्यक्रम अन्र्तगत लुहारले घर मर्मतका लागि पहिलो किस्ताको रकम बुझेका छन । रकम बुझेको लामो समय भएपनि उहाँले सुरक्षित आवास बनाउन सक्नु भएको छैन । बस्दै आएको जग्गामा घर निर्माण गर्न नसक्नुको कारण स्थानिय बासिन्दाको अबरोध हो ।

“झोपडी बनाएर बस्दै आएको २३ वर्ष पुगेको छ” लुहारले गुनासो गर्दै भन्नु भयो, झोपडीकै आसपासको क्षेत्रमा गैरदलित परिवारहरुले नदी सम्मै पुग्ने गरी खेती पनि लगाउने गरेका छन ।” उहँलाई आवादी गरेर वसेको वर्षौ पुगेको क्षेत्रमा घर निर्माण गर्न दिईएको छैन । घर निर्माणका लागि लुहार परिवारले इट्टा खरिद गरेको पनि वर्षौ भैसकेको छ । मुक्त हलिया परिवारका लुहारले ‘ख’ वर्गको परिचय पत्र पाउनु भएको छ । जग्गा भएका घर नभएका मुक्त हलिया परिवारलाई पुनः स्थापन कार्यक्रम अन्र्तगत घर मर्मतका लागि रु एक लाख ५० हजार रकम सरकारले उपलव्ध गराउदै आएको छ ।

सोही कार्यक्रम अन्र्तगत लुहार परिवारले पहिलो किस्ताको रु ८७ हजार पाँच सय रकम बुझेका छन । दोश्रो किस्ताको रु ३७ हजार पाँच सय रकम बुझन बाँकी छ । लुहार परिवार बस्दै आएको जग्गाको नदी तटीय क्षेत्रमा जङगली जनावर बस्तीमा पस्नबाट रोक्नका लागि मेसवार जडान गरिएको छ ।
गौरचन र पानीघाट त्यस क्षेत्रमा रहेको छैन । जग्गा हडप्ने मनसायले घर निर्माण गर्न खोज्दा अबरोध हुने गरेको लुहार परिवारको बुझाई रहेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारीत क्षेत्र तारापुरबाट विसं २०५९ सालमा विस्थापनमा परेपछि लुहार परिवार संगै त्यस क्षेत्रमा अन्य १५ परिवार मुक्त हलिया झोपडी बनाएर बस्दै आएका छन । लुहार परिवारको खर्च आरन चलाएर आएको कमाई बाट चल्ने गरेको छ ।हरजितका दुई छोरा मध्ये जेठो छोराले जहान सहित भारत तर्फ लागेका छन । कान्छा छोराले भारतमै मजदुुरी गरेर केही रकम आमा बुवाका लागि पठाउने गरेका छन । त्यही पठाएको रकम र जेष्ठ नागरिक भत्ताको रकमले लुहार परिवारले अन्न, लुगाफाटो र औषधोपचार गर्छन । लुहार दमका विरामी छन । “कान्छा छोराले भारतबाट पठाउने रकम औषधोपचारमै ठिक्क हुन्छ” उहाँले भन्नुभयो, “घर खर्च चलाउन निकै कठिन छ ।”

“वर्षातका बेला सर्प विच्छी लगायतका विषालु किरा झोपडी भित्रै पस्छन, वर्षातको पानी टप्प टप्प झोपडी भित्र चुहिन्छ” उहाँ पिडा पोख्दै भन्नुहुन्छ, “उत्तर तर्फबाट खेतको पानी भरिएर आँगन भरी हुन्छ, नदी उर्लेका बेला आँगनमै पुग्न आँट छ, भागेर जाने सुरक्षित ठाउ छैन, बस्नका लागि अर्को विकल्प नहुदा उच्च जोखिम मोलेर यस क्षेत्रमा बस्नु परेको छ, सुरक्षित आवास बनाउन खोज्दा अवरोध हुदा निकै पिडा संगालेर बस्नु परेको छ ।” हरजित बस्दै आएको ठाउ नजिकै अन्य गैरदलित समुदायको पनि बसोवास रहेको छ । झोपडीमै बस्दै आएका परिवारको एउटै गुनासो छ त्यो भनेको पुनः स्थापन कार्यक्रम अन्र्तगत पाएको रकमबाट सुरक्षित आवास बनाउन दिनु परयो । अन्तराष्र्टि«य श्रम संगठन(आइएलओ)को सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्र्तगत मुक्त हलिया परिवारलाई संगठीत गर्ने र समाजिक न्यायका लागि शसक्त पार्ने कार्य पनि हुदै आएको छ ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार मुक्त हलिया परिवारले वर्षौ देखि चलनभोग गर्दै आएको जग्गामा सुरक्षित आवास बनाउनका लागि पहल गरिने बताउनु हुन्छ । मुक्त हलिया परिवार जुन ठाउमा बस्दै आएका छन,त्यसै ठाउमा नाप नक्सा गरी जग्गाधनी पूर्जा दिने र घर निर्माणका लागि कार्यक्रमको मापदण्ड अनुरुपको रकम दिने व्यवस्था हलिया पुनः स्थापन कार्यविधिमा स्पष्ट संग उल्लेख गरिएको उहाँ बताउनु हुन्छ । “पहिलो चरणमा के कारणले अबरोध भएको हो, त्यसबारे खोजीनीति गर्छौ” उहाँले भन्नुभयो, “त्यो पत्ता लागेपछि दुवै पक्षलाई राखेर छलफल गराउने प्रयास गर्छौ, त्यो नभए कानुनी उपचारका लागि अदालतको ढोका ढकढक्याउ छौं ।” संविधानमै नेपाली नागरिकलाई सुक्षित आवासको हकको व्यवस्था रहेको चर्चा गर्नु हुदै उहाँले विना कारण वस्दै आएको जग्गामा घर निर्माण गर्न नदिने कार्य न्यायोचित नरहेको बताउनु भयो । मुक्त हलिया पुनः स्थापन गर्ने जिम्मा नगरपालिकाको भएकाले यसलाई चासोका साथ हेरिनु पर्ने उहाँको भनाई रहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img