राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर ः संविधान प्रदत्त अधिकार कार्यान्वयन गराउनका लागि एकवद्ध भएर अगाडी बढनु पर्नेमा दलित अगुवाहरुले जोड दिनु भएको छ । शुक्लाफाँटा नगरपालिका १० झलारीमा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको संविधानमा भएका दलित अधिकारहरुको कार्यान्वयन विषयक जिल्ला स्तरीय अन्तक्रिया कार्याक्रमका सहभागीहरुले संविधानमा दलित समुदायको हक अधिकार स्थापित गर्न सरकारलाई दवाव दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले दलित समुदायलाई सशक्तिकरण गर्नका लागि योजनावद्ध रुपमा कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । मन्त्रालयका तर्फबाट दलित लक्षित कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याईने उहाँले उल्लेख गर्नु भयो । उहाँले संविधानमा भएका व्यवस्था लागु गराउनका लागि दलित अगुवाहरुले सशक्त भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो । पूर्व मन्त्री विशेन्द्र पासवानले संविधान संसोधनन गरी पूर्ण सामानुपातिक बनाईनु पर्ने बताउनु भयो ।पूर्ण समानुपातिक व्यवस्था कायम नहुदा सम्म दलित मुक्ति असंभव भएको उहाँले बताउनु भयो । भारतीय दलित आन्दोलनको अध्ययन गरी मुद्दा स्थापित गरिनु पर्नेमा उहाँको जोड थियो ।
पूर्व संविधान सभा सदस्य हरि श्रीपाइलीले हरेक निकायमा दलित समुदायको प्रतिनिधित्व हुनु पर्ने बताउनु भयो । दलितका मुद्दा ओझेलमा पर्दा संविधान प्रदत्त अधिकार प्राप्त हुन नसकेको उहाँको जोड थियो । “संविधान त्यसै आएको होइन” उहाँले भन्नुभयो, “दलित समुदायको अहं भूमिका छ, त्यो भूमिकालाई बिर्षने कार्य गरिनु हुदैन, संविधान कार्यान्वयन गरी अक्षरसः अधिकार स्थापित गर्ने कार्य तीन वटै सरकारको हो ।”
सुदूरपश्चिम योजना आयोगका उपाध्यक्ष गणेश विकले संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न निरन्तर पैरवी गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । समानुपातिकको मुद्दालाई अगाडी बढाई संविधान संसोधनका लागि निरन्तर दवाव दिनु पर्ने उहाँले बताउनु भयो ।
राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले संविधानले दिएको अधिकार कार्यान्वयन नहुदा दलित समुदाय सुरक्षित आवास, रोजगार, स्वास्थ्य, शिक्षा लगायतबाट बञ्चित रहेको बताउनु भयो । हलिया मुक्तिको घोषणा भएको वर्षौ वितेपनि अझै पनि पुनःस्थापन कार्यले पूर्णता नपाएकोमा उहाँले चिन्ता व्यक्त गर्नु भयो । मिजार समाज नेपालका सुदूरपश्चिम अध्यक्ष राजुराम सार्कीले संविधनतः दलित समुदायका पुख्र्यौली शिल्पी पेशा व्यवसायलाई आधुनिकिरण गरी रोजगारी सृजना गरिनु पर्ने बताउनु भयो । कार्यक्रममा दलित अधिकारकर्मी, संघ संस्थाका प्रतिनिधि, दलित अगुवा लगायतको सहभागीता रहेको थियो ।