कञ्चनपुर : आज दिउँसो महेन्द्रनगरको भीमदत्त नगरपालिकामा दीर्घबहादुर चन्दद्वारा लिखित दुईवटा पुस्तकहरू लघुकविता विधा लोकार्पण भएका छन् । लोकार्पण हुने पुस्तकहरूमा एउटा “आगो” लघुकविता थियोे भने अर्को “सप्तरङ्गी” नामक सातवटा विधा मिश्रित कवितासङ्ग्रह रहेको थियोे । ‘आगो’ कविताविधाको नयाँ स्वरूपमा जन्मिएको भनेर उक्त आगो कविताविधाका प्रवर्तक पूर्व लेफ्टिनेन्ट कर्नेल दीर्घबहादुर चन्दले बताए । आज लोकार्पण एवम् समीक्षा गरिएका यी कृतिहरूको विमोचन कार्यक्रम काठमाडौँमा केही समय पहिले भएको कुरासमेत कृतिकारले बताए । पुस्तक विमर्शको उक्त कार्यक्रमको सभापतित्व ‘आगो लघुकविता सदन ( आलस) सुदूरपश्चिम प्रदेशका संयोजक साहित्यकार श्री लक्ष्मण अधिकारीले गरेका थिए भने प्रमुख अतिथिमा डा. टेकराज पन्त रहेका थिए । विशिष्ट अतिथिहरूमा प्रा.डा. मुकुन्द कलौनी, प्रा.डा. चूडामणि जोशी, प्रा . भोजराज जोशी, साहित्यकार वीरबहादुर चन्द र नारा जोशीजस्ता साहित्यका मूर्धन्य व्यक्तित्वहरू रहेका थिए ।

त्यस्तै त्यहाँ समीक्षकका रूपमा सहप्रा. श्यामसुन्दर ढकाल, सहप्रा. हरिप्रसाद खतिवडा, उपप्रा. भुवनेश्वरी बडू र शिक्षिका सरस्वती भाट “धामी”ले रहेका थिए । पुस्तक समीक्षा सँगसँगै सो कार्यक्रममा दुई फरकफरक क्षेत्रका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनुहुने व्यक्तित्वहरू सिद्धनाथ विज्ञान क्याम्पसका विद्वान् व्यक्तित्व प्रा.डा. चूडामणि जोशी र “हेल्प क्लब” नेपालका अध्यक्ष एवम् समाजिक व्यक्तित्व श्री मदन चन्द रहेका थिए । झण्डै ६०/७० जना जति विविध क्षेत्रमा आबद्ध अतिथिहरूले भरिएको उक्त हलमा अतिथिका रूपमा महेन्द्रनगरका स्थापित साहित्यकारहरू पञ्चमराज भट्ट, जगदीश ओझा, कल्याण ओझा, सुरेन्द्रराज ओझा, महादेव भट्ट, नारायण लम्साल, नारायण गिरी, रमेश पन्त मीतबन्धु, कविराज भट्ट, तुलसी पण्डित, लक्ष्मीप्रसाद भट्ट, इन्दिरा दाहाल समर्जङ्ग ब.चन्द लगायतका कैयन व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो । कवि प्रेमप्रकाश कलाैनीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम दिउँसो १२:३० देखि सुरु भएर साँझ ४: ४५ सम्म चलेको थियोे । त्यस कार्यक्रममा स्वागत मन्तव्य सहप्रा. श्यामसुन्दर ढकालले गरेका थिए भने लक्ष्मीनारायण मन्दिरका विद्यार्थी (बटुक)हरूद्वारा स्वस्तिवाचन गरी सुरु गरिएको थियोे ।

सँगसँगै उक्त कार्यक्रममा शारदा विद्यापीठको शास्त्री प्रथम वर्षमा अध्ययनरत छात्रा साक्षी खतिवडाले मीठो गायनमा शिवताण्डव स्तोत्रसमेत गाएकी थिइन् । समीक्षकहरूका अलावा सो कार्यक्रममा साहित्यकार जगदीश ओझाले लोकार्पण कृतिहरू र कृतिकारका बारेमा आफ्ना केही संक्षिप्त विचार धारणासहितको स्वागत मन्तव्य राखेका थिए । त्यस सँगसँगै सम्मानित हुनुभएका दुवैजना (प्रा.डा.चूडामणि जोशी र मदन चन्द) ले समेत मन्तव्य राखेका थिए । त्यसैगरी साहित्यकार तुलसी पण्डित र लक्ष्मीप्रसाद भट्टले आगो र सप्तरङ्गी कृतिबाट रचना वाचन गरेका थिए । आगो लघुकविता सदन (आलस) सुदूरपश्चिम संस्थाद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख आकर्षक रहेका “आगो” कविताविधाका प्रवर्तक पूर्व लेफ्टिनेन्ट कर्नेल दीर्घबहादुर चन्द “सुमन” ले केही “आगो” लघुकविता विधाका बारेमा केही संक्षिप्त जानकारी सँगसँगै त्यहाँ उपस्थित सबै अथितिलाई धन्यवाद आभार व्यक्त गर्दै सबैले “आगो” लघुकविता विधा लेख्नुपर्ने धारणा व्यक्त गरेका थिए । करिब चार घण्टा जति भीमदत्त नगरपालिकाको सभाहलमा चलेको उक्त कार्यक्रममा दर्शकदीर्घामा रहेका स्रोताहरूले कार्यक्रमको समीक्षा निकै उत्साहका साथ एकाग्रतापूर्वक सुनिरहेका थिए ।







