कञ्चनपुर, : गर्भवती तथा स्तनपान गराई रहेका शुक्लाफाँटा नगरपालिका ११ का महिलाहरुलाई आज पोषणयुक्त आहार (सामग्री) वितरण गरिएको छ ।
मातृशिशुको स्वास्थ्यमा सुधार ल्याउनका लागि वडा कार्यालयले ४० जना महिलालाई पोषणयुक्त सामग्री वितरण गरेको हो ।
वडा अध्यक्ष शेर बहादुर साउदको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा गर्भवती तथा स्तनपान गराई रहेका महिलाहरुलाई अण्डा, दाल, नुन, फलफुल लगायतका साग्री वितरण गरिएको छ ।
वडा अध्यक्ष साउदका अनुसार महिलाहरुलाई ४० क्रेट अण्डा, ४० किलो दाल, ४० प्याकेट आयोडिनयुक्त नुन र पोषणयुक्त फलफुल वितरण गरिएको छ ।
“वडाको चालु आबको स्वीकृत कार्यक्रम अनुसार रु एक लाख बजेटमा पोषणयुक्त सामग्री वितरण गरेका छौं” वडा अध्यक्ष साउदले भन्नु भयो, “गर्भवती र स्तनपान गराई रहेका महिलाहरुलाई पोषणयुक्त आहार बारे अभिमुखिकरण कार्यक्रम गरी जनचेतना दिने कार्य गरिएको छ ।”
वडाकै पहलमा आधारभूत स्वास्थ्य चौकीमा नाप लिन आउने बालबालिकालाई सावुन र आयोडिनयुक्त नुन वितरणको व्यवस्था गरिएको वडा सदस्य राजेश शाहीले बताउनु भयो ।
कुपोषित बालबालिकालाई बालभिटा र उपचारात्मक खाना निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था रहेको उहाँले उल्लेख गर्नु भयो ।
महिला स्वास्थ्य स्वयंसेवीकाको जनचेतनाको प्रभावका कारण वडामा विगतको तुलनामा कुपोषित हुने बालबालिकाको सङख्या घटदै गएको छ ।
चालु आबमा तीन जना बालबालिकामा मात्रै कुपोषण देखा परेको छ । कुषोषित बालबालिकालाई स्वास्थ्य केन्द्रले उपचारात्मक खाना निःशुल्क रुपमा उपलब्ध गराई उपचार गर्ने व्यवस्था गरेको छ ।







