महेन्द्रनगर : शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ८८ करोड ७ लाख ९६ हजार २ सय रुपैयाँ विनियोजन गरेको छ। बिहीबार नगरपालिकाले १४ औं नगर सभाको अधिवेशनबाट उक्त बजेट पारित गरेको हो। यो सँगै शुक्लाफाँटा कञ्चनपुरमै निर्धारित समयमा बजेट ल्याउने पहिलो पालिका बनेको छ। नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा भएको भएको नगरसभामा नगर उपप्रमुख कल्पना पन्त जोशीले बजेट प्रस्तुत गरेकी थिइन्।

चालु आर्थिक वर्षको जम्मा आय ७१ करोड ९९ लाख ५६ हजार ९ सय ७९ रुपैयाँ मध्ये जेठ मसान्तसम्म चालु खर्चतर्फ ३० करोड २४ लाख ३७ हजार ८ सय ९७ रुपैयाँ र पूजिगत खर्चतर्फ ९ करोड ३ लाख ९४ हजार ३ सय २३ रुपैयाँ गरि ३९ करोड २८ लाख ३२ हजार २ सय २० रुपैयाँ रहेको छ। बाँकी रकम मध्ये २०८० असार मसान्तसम्म चालु र पूँजीगत खर्च हुने अनुमान गरिएको छ। नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ मा चालु र पूँजीगत खर्च गरि जम्मा ८८ करोड ७ लाख ९६ हजार २ सय रुपैयाँ व्यय हुने अनुमान गरिएको छ। नगर सभा सदस्य भुमा चन्दले नगरसभामा पेश गरेको आर्थिक विधेक २०८० र वडा नं. १२ का अध्यक्ष तथा नगरसभा सदस्य नवलसिंह रानाले नगरसभामा पेश गरिएको विनियोजन विद्येक सर्वसहमतीबाट पारित गरिएको छ। यसैगरी, वडा नं. ९ का अध्यक्ष रमेशबहादुर ऐरले स्वास्थ्यतर्फका कर्मचारी व्यवस्थापन सम्बन्धि प्रस्ताव, वडा नं. १० का अध्यक्ष लालबहादुर ऐरले करार कर्मचारी व्यवस्थापन सम्बन्धि प्रस्ताब, वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्टले नगर शिक्षक व्यवस्थापन प्रस्ताव नगरसभामा पेश गरेका थिए। यस्तै, वडा नं. ३ का अध्यक्ष नरेन्द्रबहादुर चौधरीले आव२०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन सम्बन्धमा प्रस्ताव र वडा नं. ६ का अध्यक्ष दानसिंह ऐरले कार्यालयको वार्षिक कार्यक्रम सम्बन्धमा प्रस्ताव पेश गरेका थिए। यी सबै प्रस्ताव नगरसभाले पारित गरेको छ।

नगर गौरबका योजनामा लाखौं बजेट

शुक्लाफाँटा नगरपालिकाले गौरबका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि ४ लाख, नगर स्तरीय कबर्ड हल निर्माणमा ९० लाख, बसपार्क निर्माणमा ४ लाख, नगर चक्रपथ निर्माणमा १ करोड ४० लाख, वडा नं. २ मा निर्माणाधिन खानेपानी योजनामा १ करोड १४ लाख, सेफहाउस सञ्चालनका लागि २ लाख २ लाख विनियोजन गरेको छ। यस्तै, हलियामुक्ति परिवारको घर निर्माणका लागि ५ लाख, छाडा चौपाया व्यवस्थापन ३५ लाख, लक्षित बर्ग विशेष कार्यक्रम ७ लाख, मागको आधारमा संस्कृति पर्यटन विकास तथा प्रवद्र्धनमा ५ लाख, सडक क्षतिपूर्ति मुअब्जाका लागि ४ लाख, एमबीबीएस अध्ययनरत विद्यार्थीका लागि छात्रबृति ५ लाख, विपद् व्यवस्थापन कोष ५ लाख, कर्मचारी कल्याण कोष ५ लाख, सडक मर्मत सम्भार कोष १० लाख, मेचिङ फन्टमा ४ करोड विनियोजन गरेको छ। नगरपालिकाले वडामा सञ्चालन हुने योजनाका लागि ४० लाखदेखि ५० लाख गरि ५५ करोड विनियोजन गरेको छ। वडा नं. २, ३, ६ र ९ का लागि ४० लाख, वडा नं. ४ र १० मा ४५ लाख, वडा नं. १, ५, ७, ८, ११ र १२ का लागि ५० लाख बजेट विनियोजन गरेको छ।






