शुक्लाफाँटामा फोहर व्यवस्थापनका लागि रुख कटानी शुरु


शुक्लाफाँटा: शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण स्थलमा रहेका रुखहरुको कटानी सुरु भएको छ । नगर प्रमुख रणबहादुर महरा, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रसाद भट्ट,वडा नम्बर १० का वडाध्यक्ष नगर प्रवक्ता लाल बहादुर ऐर,वडा नम्बर ९ का वडाध्यक्ष रमेश बहादुर ऐर,वडा नम्बर ११ का वडाध्यक्ष शेर बहादुर साउँद,वनका अध्यक्ष राजेन्द्र ऐर लगायतको सहभागितामा रमण केएसजेभी कैलालीले रुख कटानको काम सुरु गरेको हो।बैशाख १५ गतेभित्र रुख कटान गरि सक्ने लक्ष्य लिइएको छ। डिभिजन वन कार्यालय कञ्चनपुर फागुन २६ गते ८ सय २५ रुख कटानका लागि आदेश दिएको थियो । नगर प्रमुख महराले समयमै रुख कटानको काम सक्न निर्देशन दिएका छन् । ‘तोकिएकै समयमा रुख कटानी गरि फोहर व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढाउनुहोस्,’ उनले भने, ‘नगरपालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्नेछ।

’आरयुडीपी परियोजना अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको ४.९९ हेक्टर क्षेत्रफलमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण हुनेछ । फोहर व्यवस्थापन केन्द्र निर्माणका लागि गत वैशाखमा रमण केएसजेभी र सहरी विकास आयोजना कार्यान्वयन इकाइबीच २६ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको थियो। ‘२० महिनाभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो,’ निर्माण कम्पनीका इन्जिनियर अमित यादवले भने, ‘रुख कटानीको काम सुरु भएको छ, निर्धारित समयमा निर्माण सकिदैन, तर तीब्र गतिले निर्माण कार्य अगाडि बढाउने हाम्रो योजना छ । ’शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट उत्पादन भएको फोहर व्यवस्थापनका लागि ४. ९९ हेक्टरमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण गरिनेछ ।

एडीबीको २६ करोड ७७ लाख सहयोगमा बन्ने फोहर व्यवस्थापन केन्द्रमा ३० देखि ४० वर्षसम्म फोहर व्यवस्थापन गर्न सकिन्छ । मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नगर्ने खालको फोहर व्यवस्थापन केन्द्र निर्माण गरिने क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर आकांक्षा श्रेष्ठले बताए।‘प्रविधिको प्रयोग गरेर आधुनिक तथा व्यवस्थित फोहर व्यावस्थापन केन्द्र बन्छ,’ उनले भने, ‘फोहर व्यवस्थापन केन्द्रमा लगिएको फोहर छुट्याएर राखिन्छ । ’फोहरबाटै जैविक मल र ग्याँस उत्पादन समेत गरिने उनको भनाई छ । ‘कुहिने र नकुहिने फोहरलाई छुट्याएर अलग राखिन्छ, कुहिने फोहरबाट मल बन्छ, नकुहिने फोहर कबाडमा बिक्रि हुन्छ,’ उनले भने, ‘केन्द्रमा १० प्रतिशत मात्रै काम नलाग्ने फोहर रहन्छ, त्यसलाई खाडलमा पुरिन्छ ।’ संकलन गरिएको फोहरलाई बन्द गाडीमा व्यवस्थापन केन्द्रसम्म लगिने उनले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img