कञ्चनपुर : मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित तीन दिने अभिमुखिकरण तालिम शनिवार सम्पन्न भएको छ । नगर उप प्रमुख कल्पना जोशी पन्तको सभापतित्वमा तालिम समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै नगर उप प्रमुख पन्तले कानुनी भाषा नबुझेपनि मेलमिलापका माध्यमबाट न्यायिक समितिमा आउने उजुरीको छिनोफानो गरिदै आएको बताउनु भयो ।

“पक्ष र विपक्षलाई संगै राखेर दुवै पक्षको कुरा सुनेपछि मेलमिलाप गराउदै आएका छौं” उहाँले भन्नु भयो, “तालिमका माध्यमबाट कानुनी व्यवस्थाका बारे धेरै कुरा जान्ने अवसर प्राप्त भएको छ ।” न्याय दिने ठाउमा बसेर राजनीतिक गन्ध नआउने गरी निष्पक्ष तरिकाले कार्य गरिने उहाँले बताउनु भयो । नगर प्रमुख रण बहादुर महराले न्याय सम्पादन गर्दा निष्पक्ष र इमान्दारीतालाई ध्यानमा राखेर कार्य गर्नु पर्ने बताउनु भयो । “तालिमका क्रममा धेरै सुझाव, सल्लाह आएका छन” उहाँले भन्नु भयो, “भावनाको सम्मान हुने गरी अगाडी बढछौ, कर्तव्यपालन गर्ने छौं ।”

मेलमिलाप कर्ताको अझै क्षमता अभिबृद्धिका लागि कार्य अगाडी बढाउन कटिवद्ध रहेको उहाँले बताउनु भयो । अधिवक्ता उद्धवराज भट्टले न्याय निरुपण गर्ने कार्यका लागि तालिम सशक्त माध्यमका रुपमा रहेको बताउनु भयो । तालिम पाएपछि मेलमिलापकर्ताहरुको क्षमता बढाउनमा मद्दत पुगेको उहाँको भनाई रहेको छ । कानुनमा रहेका प्रावधानमा थप्नु पर्ने कार्य र हटाउनु पर्ने कार्य बारे गहन सुझाव आएको उहाँले बताउनु भयो । तालिममा नगरपालिकाका सुचिकृत ५० जना बढी मेलमिलापकर्ताको सहभागीता रहेको थियो ।







