कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीस्थित त्रिशक्ति मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक अवस्था तथा आगामी कार्ययोजनामाथि छलफल गरी पारित गरेको छ। त्रिशक्ति मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दमनबहादुर चन्दको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको अध्यक्षता सहकारीका अध्यक्ष लालसिंह विष्टले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन करनसिंह ऐरले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि चन्दले मध्यवर्ती क्षेत्रका स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले सहकारीलाई सदस्यहरूको आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्दै बचत गर्ने बानीको प्रवर्द्धन, उत्पादनमूलक क्षेत्रमा ऋण लगानी र संस्थागत पारदर्शितामा जोड दिनुपर्ने बताउनुभयो।

सहकारीले आर्थिक गतिविधिसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमा समेत योगदान पुर्याउनुपर्ने उहाँको भनाइ थियो। साधारणसभाका अवसरमा सहकारीका उत्कृष्ट बचतकर्ता, असल ऋणी तथा उत्कृष्ट कर्मचारीलाई प्रमाणपत्रसहित प्रमुख अतिथि चन्दले सम्मान गर्नुभएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र तराई भू–परिधि कार्यक्रम (TAL) को आर्थिक सहयोगमा सहकारी ऐन, २०७४ तथा संस्थाको विनियमअनुसार स्थापना भएको सहकारीको सुरुवात २०६४ वैशाख ५ गते भएको थियो। दलबहादुर बोहराको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरी स्थापना गरिएको संस्थामा सुरुवाती चरणमा २८ जना सेयर सदस्य र १४ हजार रुपैयाँ सेयर पुँजी रहेको थियो। संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाल सहकारीको सेयर पुँजी ३४ लाख ३१ हजार पाँच सय रुपैयाँ पुगेको छ। सहकारीमा तीन सय ७७ जना सेयर सदस्य आबद्ध छन् भने बचत रकम ९७ लाख २५ हजार पाँच सय ८७ रुपैयाँ रहेको छ।

सहकारीले मध्यवर्ती क्षेत्रका गरिब, विपन्न, दलित, आदिवासी तथा जनजाति समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ। स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउनुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमा टेवा पुर्याउने लक्ष्यसमेत संस्थाले लिएको छ। साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को दुई करोड ८६ लाख ६५ हजार ५८ रुपैयाँ बराबरको आय–व्यय विवरण तथा आर्थिक कारोबारसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो। साधारणसभामा सहकारीको आर्थिक गतिविधि, बचत परिचालन, ऋण लगानी तथा सदस्यहरूको आर्थिक अवस्था सुधारका लागि आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे समेत छलफल गरिएको थियो।











