तिलाचौर बन्यो अन्तरवडा स्तरीय तेस्रो खुला पुरुष कबड्डी प्रतियोगिताको विजेता


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा सञ्चालन भएको अन्तरवडा स्तरीय तेस्रो खुला पुरुष कबड्डी प्रतियोगिता आज सम्पन्न भएको छ। कार्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगिता कार्तिक १५ गते सम्पन्न भएको हो। प्रतियोगितामा ९ वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा भीमदत्त नगरपालिका–८ तिलाचौर प्रथम, वडा नं. ६ दोस्रो र आयोजक वडा नं. ७ को ए टोली तेस्रो भएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ५५ हजार ५५५ रुपैयाँ, ३३ हजार ३३३ रुपैयाँ र १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। भीमदत्त नगरपालिका–७ का वडा अध्यक्ष गणेशबहादुर चन्दले युवाहरूको चौतर्फी विकासका लागि वडाले विभिन्न समयमा खेलकुदलगायतका कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो। शिक्षासँगै खेलकुद पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै उहाँले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न कबड्डी प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

यसैबीच प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई हेल्प नेपालका अध्यक्ष तथा मदन अभियानअन्तर्गत धूम्रपान तथा लागुऔषध दुर्व्यसन रोकथाम अभियानमा सक्रिय मदन चन्दले ट्र्याकसुट वितरण गर्नुभएको थियो। ट्र्याकसुट प्राप्त गर्ने खेलाडीमध्ये भीमदत्त नगरपालिका–६ का भूपेन्द्र बोहराले उत्कृष्ट रेडर र अनुशासित खेलाडी गरी दुई विधाको पुरस्कार प्राप्त गर्नुभएको थियो। त्यसैगरी उत्कृष्ट डिफेन्डर भीमदत्त नगरपालिका–८ का धिरज देउपा, सर्वोत्कृष्ट खेलाडी सुशील सुनार र उदयमान खेलाडी सफल भट्ट घोषित भएका थिए।

समापन कार्यक्रममा समाजसेवी मदन चन्दले भौतिक विकाससँगै युवाहरूलाई लागुऔषध दुर्व्यसनबाट जोगाउनु पनि आवश्यक रहेको बताउनुभयो। उहाँले युवाहरू दिनप्रतिदिन लागुऔषध दुर्व्यसनमा फस्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो। देशको भविष्य आजका युवाहरूको हातमा रहेको उल्लेख गर्दै उहाँले युवाहरूलाई दुर्व्यसनबाट जोगाउन सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो।

प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित माननीय मुख्यमन्त्री खगराज भट्टले खेलाडीहरूको हौसला बढाउनुभएको थियो। कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, प्रदेशसभा सदस्य शिवसिंह वलीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img