अखिल नेपाल शिक्षक संगठनको आठौँ राष्ट्रिय महाधिवेशन


कपिलवस्तु : अखिल नेपाल शिक्षक संगठनको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आज लुम्बिनी प्रदेशको ऐतिहासिक भूमि कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–१ स्थित सिद्धार्थ क्याम्पसमा भव्य, सभ्य तथा उत्साहपूर्ण वातावरणमा सुसम्पन्न भएको छ। संगठनका केन्द्रीय अध्यक्ष लछीराम शर्मा ढकालको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोह आठवटा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको थियो। कार्यक्रमको सञ्चालन संगठनका महासचिव मदनराज जोशीले गर्नुभएको थियो।

समारोहमा विशिष्ट अतिथिका रूपमा प्रथम शिक्षक सहिद टंक भुषालकी जीवनसाथी सरस्वती भुषालको गरिमामय उपस्थिति रहेको थियो। त्यसैगरी संगठनका पूर्वअध्यक्ष एवं सल्लाहकार घनश्याम पाठक, विभिन्न शिक्षक तथा कर्मचारीका पेसागत संगठनका नेतृत्वहरू, संगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, देशभरिबाट सहभागी शिक्षक प्रतिनिधि एवं शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शिक्षक एकता, पेसागत अधिकार, संगठनात्मक सुदृढीकरण र शैक्षिक रूपान्तरणको साझा सङ्कल्पसहित आयोजित महाधिवेशनको पहिलो दिनको उद्घाटन समारोह उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने यस राष्ट्रिय महाधिवेशनमा शिक्षकहरूको पेसागत हकहित तथा अधिकारको संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि, संगठनात्मक सुदृढीकरण, शिक्षक एकता र समग्र सार्वजनिक शिक्षाको रूपान्तरणका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।
त्यसैगरी वर्तमान शैक्षिक नीति, शिक्षकहरूले भोग्दै आएका पेसागत समस्या तथा चुनौती, सेवा–सुविधा, पेसागत सुरक्षा, सम्मानजनक भविष्य निर्माण तथा संगठनको आगामी कार्यदिशाका विषयमा समेत महत्त्वपूर्ण बहस र निर्णय हुने विश्वास गरिएको छ।

महाधिवेशनको उद्घाटन सम्पन्न हुनु एउटा महत्त्वपूर्ण उपलब्धि हो, तर यसको वास्तविक सार्थकता शिक्षकका समस्या समाधान, पेसागत अधिकारको सुनिश्चितता र सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि तय गरिने ठोस कार्यदिशामा निर्भर रहनेछ। देशभरिका शिक्षक प्रतिनिधिहरूको सहभागिताले संगठनात्मक एकता, सामूहिक प्रतिबद्धता र शैक्षिक परिवर्तनप्रतिको विश्वासलाई थप बलियो बनाएको छ।

भोलिसम्म जारी रहने महाधिवेशनले शिक्षक आन्दोलनलाई नयाँ ऊर्जा, संगठनलाई स्पष्ट दिशा र सार्वजनिक शिक्षा सुधारको अभियानलाई थप गति प्रदान गर्ने अपेक्षा गरिएको छ। अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष पुष्पमणी जोशीले
उद्घाटन समारोहलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने आयोजक समिति, संगठनका विभिन्न तहका नेतृत्व, शिक्षक प्रतिनिधि, स्थानीय व्यवस्थापन पक्ष, अतिथिगण तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img