धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।
दिगो वन व्यवस्थापन कार्यविधि तत्काल स्वीकृत गरी कार्यान्वयन गर्न माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूसँगको भेटमा मुख्यमन्त्री भट्टले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले वन पैदावारको उपयोगसँगै यसको उचित सदुपयोग र संरक्षणलाई पनि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । सुदूरपश्चिममा उपलब्ध वन स्रोतको दिगो उपयोगमार्फत राजस्व वृद्धि, आर्थिक गतिविधिको विस्तार तथा रोजगारी सिर्जना गर्न सकिने भए पनि वन स्रोतको दुरुपयोग हुन नदिन सरकार उत्तिकै सचेत रहेको उहाँको भनाइ थियो ।

विगतमा वैज्ञानिक वन व्यवस्थापनका क्रममा देखिएका समस्या र कमजोरी दोहोरिन नदिन दिगो वन व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी ढङ्गले अघि बढाउनुपर्नेमा मुख्यमन्त्री भट्टले जोड दिनुभयो । वन पैदावारको सदुपयोगबाट प्रदेशको आर्थिक समृद्धिमा योगदान पुग्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यसैबीच, सरकारले दिगो वन व्यवस्थापन कार्यविधि समयमै कार्यान्वयन नगर्दा प्रदेशले अर्बौँ रुपैयाँ बराबरको सम्भावित राजस्व गुमाउनुका साथै वन पैदावारमा आधारित आयआर्जन र रोजगारीका अवसरसमेत प्रभावित भएको सामुदायिक वनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूले बताएका छन् । दिगो वन व्यवस्थापन कार्यविधि तत्काल स्वीकृत गरी कार्यान्वयन गर्न माग गर्दै विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा वनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् ।
आफ्ना माग सम्बोधनका लागि विभिन्न वनसम्बद्ध संघसंस्थाले संयुक्त आन्दोलन परिचालन समिति गठन गरी आन्दोलनको तयारीसमेत गरिरहेका छन् । माग समयमै सम्बोधन नभए सडक आन्दोलनमा जाने उहाहरुको भनाइ रहेको छ । दिगो वन व्यवस्थापन कार्यविधि कार्यान्वयनमा देखिएको ढिलाइ अन्त्य गर्दै वन स्रोतको संरक्षण, सदुपयोग र आर्थिक लाभबीच सन्तुलन कायम गर्नुपर्ने माग वन क्षेत्रसँग आबद्ध सरोकारवालाहरूले अघि सारेका छन् ।










