धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गहन छलफलमार्फत परिणाममुखी कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ। ११औँ अनुसन्धान तथा प्रशिक्षण परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले नवीनतम सोच, नवप्रवर्तन र रूपान्तरणकारी योजनामार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिने बताउनुभयो।

उहाँले राज्य सञ्चालन र विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानलाई तथ्यमा आधारित, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिनुभयो।प्रदेशको समग्र विकासका लागि योजना निर्माणमा मात्रै सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयन र उपलब्धिको मूल्याङ्कनमा समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

मुख्यमन्त्री भट्टले नवीन सोच र अनुसन्धानमा आधारित योजनाले विकासका प्राथमिकता पहिचान गर्न तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सुदूरपश्चिम प्रदेशको समृद्धि र रूपान्तरणका लागि अनुसन्धान, प्रशिक्षण तथा योजनाको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।











